दसैंका लागि बसको अग्रिम टिकट असोज १ गतेदेखि खुल्ने भएको छ। यातायात व्यवस्थापन विभागका अनुसार राजधानीका विभिन्न १२ वटा स्थानबाट टिकट बुकिङ गरिनेछ। विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले असोज १ गतेदेखि अग्रिम बुकिङ खोल्ने लगभग सहमति भइसकेको जानकारी दिए।
‘हामी अन्तिम चरणको छलफल गर्दैछौं। अहिलेसम्म व्यवसायीहरु असोज १ गतेदेखि अग्रिम बुकिङ खोल्न तयार छन्,’ उनले भने।
गत मंगलबार सवारीसाधन, मजदुर र यात्रुको सुरक्षाका विषयमा विभागमा यातायात मन्त्रालयमा मन्त्रीको संयोजकत्वमा गृह मन्त्रालय, ट्राफिक प्रहरी, प्रहरी महानिरीक्षक सम्मिलित बैठकबाट असोजको पहिलो सातानै बुकिङ खोल्नुपर्ने निष्कर्षमा पुगेको उनले बताए।
बैठकमा सुरक्षाका लागि विभिन्न स्थानमा प्रहरी तैनाथ गर्ने र कालोबजारी नियन्त्रण गर्न विभागका प्रतिनिधि सहित टोली परिचालन गरी अनुगमन गर्ने निर्णय भएको थियो। ‘कानुनविपरीत जानेलाई कडा कारबाही गरिनेछ,’ उनले भने, ‘कालोबजारी निरुत्साहित पार्न अनुगमनका लागि विभाग र प्रहरीको संयुक्त टोली पठाइनेछ।’
उपत्यकाका १२ वटा स्थान र तराई तथा पहाडी भेगका १० वटा स्थानमा अग्रिम बुकिङका लागि टिकट काउण्टरको व्यवस्था गरिने समेत श्रेष्ठले जानकारी दिएका छन्। कुनकुन स्थानमा काउण्टर राख्ने भन्ने विषयमा व्यवसायीसँग छलफल गरेर तय गरिनेछ।
दसैंमा उपत्यकाका ७० प्रतिशत मानिसहरु बाहिरिने गरेका छन्। फूलपातीदेखि अष्टमीसम्म दैनिक तीन हजारका दरले यात्रुबाहक बस काठमाडौं बाहिरिने गरेका छन्।
असोज १ गतेदेखि बुकिङ खुलाउने विषयमा भदौ १९ गते यातायात व्यवसायीसँग बैठक बोलाइएको विभागका महानिर्देशक श्रेष्ठले जानकारी दिए। उनले भने, ‘१९ गते व्यवसायीहरुसँग अन्तिम बैठक बस्दैछौं, छलफल गरी असोज १ गते अग्रिम टिकट बुकिङ खुलाउछौं।’
भदौ १९ गते विभागसँग रुट परमिटको विषयमा छलफल गर्ने र टिकट बुकिङलार्इ समेत टुंगो लगाइने नेपाल यातायात राष्ट्रिय महासंघका अध्यक्ष डोलनाथ खनालले जानकारी दिए।