कलाकार देशका गहना हुन् । पर्दा पछाडीका श्रमजीवि हातहरुलाई सम्मान गर्नका लागि आयोजना गरिएको अवार्ड हो, एलजी फिल्म अवार्ड । उपराष्ट्रपति नन्दकिशोर पुन, भारतीय राजदुत रन्जित रे, भारतीय कलाकार शत्रुघन सिन्हा, उद्योगपति विनोद चौधरी लगायत लव्धप्रतिष्ठित व्यक्तिहरुको समु–उपस्थितीमा हुन लागिएको अवार्ड भनी पहिलो फिल्म अवार्डको प्रचार प्रसार गरिएता पनि उपस्थित ति तमाम भिआइपीहरु मध्ये कसैले पनि अवार्डको अन्तिम क्षेणसम्म बसी नेपाली फिल्म अवार्ड प्रति धैर्यता र साथ देखाएनन् । कार्यक्रमको प्रमुख आर्कषण ४० बर्ष देखी नेपाली फिल्म क्षेत्रमा योगदान पुराएका जुँगे भट्टराईको लाइफटाइम अचिभमेन्ट अवार्डलाई बनाइएको थियो । तर जुँगे भट्टराईलाई प्रदान गरिन लागिएको त्यो क्षेण भिआइपीहरुको समय अभावका कारण यति फितलो देखियो कि मानौ त्यहाँ कुनै सम्मान प्रदान नभएर राहत वितरण भइरहेको थियो ।
नेपाली कलाकारलाई दिइन लागिएको सम्मानमा जति समय अभाव भएको परिस्थिती सृजना गरियो त्यति नै फुसर्दका साथ शत्रुघन सिन्हाको किताब विमोचन गर्नका लागि समयको बन्देज नै थिएन । अवार्डको दृश्य हेर्दा यस्तो भान हुन्थ्यो अवार्डमा पुस्तक विमोचन होइन पुस्तक विमोचनमा अवार्ड भइरहेको छ ।
त्यस्तै कार्यक्रममा लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको जुँगे भट्टराईलाई आयोजकले अपमान गरे झै देखिएको थियो । कार्यक्रममा उनलाई लाइफटाइम अचिभमेन्ट अवार्ड वितरण गर्दै गर्दा उनको विषयमा बनाएको वृतचित्र ध्वनी सहित देखाइएको थिएन । आयोजक संस्थाका संयोजक समेत रहेको दिनेश डिसीले समय अभाव रहेको भन्दै जुँगे भट्टराईको वृतचित्रलाई धर्यता पूर्वक देखाउन सकेनन् । तर अनौठो यो छ कि सोही कार्यक्रममा शत्रुघन सिन्हाको वृतचित्र भने निकै आर्कषक तबरले प्रस्तुत गरिएको थियो ।
लाइफटाइम अचिभमेन्ट अवार्ड पाएका जुँगे भट्टराईको वृतचित्र भने आयोजक संस्थाले अवार्ड वितरण गर्दै गर्दा ब्याकग्राउण्डमा विना अडियो देखाएको थियो, जसले उनको सम्मान भन्दा पनि अपमान भएको महशुस धेरै चलचित्रकर्मीहरुले गरे । आखिर के नै फरक छ र जुँगे भट्टराई र शत्रुघन सिन्हामा, जति समय शत्रुघनले बलीउड चलचित्रमा समय खर्च गरेका छन् त्यति समय नै जुँगे भट्टराइले नेपाली चलचित्रक्षेत्रमा योगदान पुराएका छन् । फरक यति मात्र हो त्यहाँको पैसा र नाम ठूलो छ, यहाँ छैन ।
जुँगे भट्टराईलाई राहत बढे जसरी लाइफटाइम अचिभमेन्ट अवार्ड बाँड्दा कार्यक्रमका विशेष अतिथी शत्रुघन सिन्हाको पुस्तकको भने खुबै प्राथमिकताका साथ विमोचन गरियो । शत्रुघन सिन्हाको बायोग्राफी पुस्तक ‘खामोश’ को चर्चा गर्न मात्र आयोजक संस्थाले ४५ मिनेट भन्दा बढीको समय प्रदान गरेको थियो, जुन सुन्न कार्यक्रममा उपस्थित भएका कोहीले पनि चाहेका थिएनन् । त्यसैले पनि लाग्थ्यो एलजी फिल्म अवार्ड “अवार्ड” नभएर शत्रुघनको पुस्तक विमोचन गर्न आयोजना गरिएको हो । यति सम्मकी आयोजक संस्थाले जुँगे भट्टराईलाई आफ्नो मन्त्व्य पनि राख्न अवसर दिएन तर भारतबाट आएका शत्रुघन सिन्हालाई भने प्रशस्तै समय छुट्टाएको थियो ।
त्यति मात्र होइन अवार्ड कार्यक्रममा सम्पुर्ण कलाकारहरुलाई सम्मान र हौसला प्रदान गर्न उपस्थित कुनै पनि अतिथीहरु कार्यक्रमको अन्त्यसम्म बसेका थिएनन् । उपराष्ट्रपतिको विशेष कामले चाँडै निस्कनु पर्ने अबस्था सृजना भयो होला तर एलजी फिल्म अवार्डकै लागि भनेर भारतबाट नेपाल आएका शत्रुघन सिन्हा पनि कार्यक्रमको बिच नै अस्वास्थ्य भएको भन्दै हिँडेपछि उनी नेपालमा आफ्नो पुस्तक विमोचन गर्न मात्र आएको महशुस हुन्थ्यो । सिनेखबरलाई प्राप्त जानकारी अनुसार शत्रुघन सिन्हा अवार्ड कार्यक्रमबाट अस्वास्थ्य छु भन्दै हिँडे पनि त्यसपछि उनी रमाइलोका लागि ललितपुरको समिट होटल पुगेका थिए । जसबाट यो भान हुन्थ्यो कि नेपाली अवार्ड र नेपाली चलचित्र प्रति उनले खासै चासो देखाइरहेका थिएनन् । त्यस्तै अवार्ड कार्यक्रमका अतिथी विनोद चौधरी, भारतीय राजदुत रेन्जित रे लगाएतका भिआइपीहरु पनि अवार्ड सकिँदा सम्म कोही पनि थिएनन् । अतिथीहरु नै कार्यक्रम भइरहँदा निस्किएपछि कार्यक्रम सकिँदासम्म दर्शकहरु पनि १५ प्रतिशत मात्र बाँकी थिए ।