गएको शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आएको चलचित्र छक्का पन्जा हेर्न आइतबार राजधानीको बिग मुभिजका एमालेका शिर्षस्थ नेताहरुको भिड नै लागेको थियो । प्रदर्शनमा आएको दुई दिनमा डेढ करोडमाथिको विजनेश गरेको चलचित्र छक्का पन्जा हेर्न केपी ओली स्वयमले निर्माण पक्षलाई फोन गरेर चलचित्र हेर्ने इच्छा व्यक्त गरेका थिए । त्यही अनुरुप आइतबार निर्माणपक्षले चलचित्र छक्का पन्जाको विशेष शो गरेको थियो ।
चलचित्र हेर्न विग मुभिजमा एमाले अध्यक्ष केपी ओली, बरिष्ठ नेता माधव कुमार नेपाल र झलनाथ खनाल लगाएतका नेताहरु उपस्थित भएका थिए । चलचित्र ‘छक्का पन्जा’ हेरेपछि पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले भने, ‘मैले ‘वडा नम्बर ६’ र ‘६ एकान ६’ पनि हेरेको छु । पहिलो भन्दा दोस्रो र दोस्रो भन्दा तेस्रो झन् मनपर्यो। उठाएको विषयले मन छोयो।’ उनले चलचित्र राम्रो तर ‘छक्का पन्जा’ नराम्रो भन्दै हँसाउन पनि भ्याए । त्यस्तै झलनाथ खनालले भने आफ्नै पार्टीका अध्यक्षलाई व्यङ्ग्य गर्दै भने, ‘केपी ओलीको उखान टुक्का कहिले कहिले मात्र हो सुन्न पाइने तर छक्का पन्जाको कमेडी सदाबहार।’ त्यस्तै माधव कुमार नेपालले पनि चलचित्र ‘छक्का पन्जा’ नेपाली स्वाद बोकेको चलचित्र भएको बताए ।
एमालेका नेताहरु सहित केपी पत्नी राधिका शाक्य, प्रदीप ज्ञवाली, मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, अनिलकेशरी शाह, बसुन्धरा भुषाल, चैत्यदेवी, राजकुमार राई, विकास आचार्य लगायत विभिन्न कलाकारहरुले पनि ‘छक्का पन्जा’ हेरेका थिए । यो चलचित्रमा शिवहरी पौडेल, केदार घिमिरे, जितु नेपाल, बुद्धि तामाङ, नम्रता सापकोटा, वर्षा राउत लगायत कलाकारहरुको अभिनय रहेको छ । चलचित्रलाई पहिलो पटक हास्यकलाकार दीपाश्री निरौलाले निर्देशन गरेकी हुन् ।