
काठमाडौं । आगामी जेठ १५ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘मितज्यू’को फस्ट लुक सार्वजनिक भएको छ। निर्माण टिमले शुक्रबार फिल्मको पहिलो लुक्स सार्वजनिक गरेको हो।
फस्टलुकमा फिल्मका मुख्य तीन कलाकार दयाहाङ राई, सौगात मल्ल र तेरिया फौजा मगरलाई देख्न सकिन्छ। पहाडी पृष्ठभूमिमा जिपको अगाडि दयाहाङ राई र सौगात मल्ल शक्ति प्रदर्शन झल्किने शैलीमा पञ्जा लडाईरहेको दृश्य प्रस्तुत गरिएको छ भने जिपको बोनटमाथि परम्परागत पहिरनमा तेरिया फौजा मगर गम्भीर मुद्रामा बसेकी छिन् । पोस्टरले पारिवारिक सम्बन्ध, अहंकार र सामाजिक टकरावको कथावस्तु संकेत गरेको अनुमान गर्न सकिन्छ ।
साथै गाडीको हुटमा कोसेलीका स्वरुपमा सुँगुर, राडीपाखी, तरकारी राखिएको छ। छेउमा डोको र गाग्री पनि देख्न सकिन्छ। उनीहरुबीचको लडाई तेरियाको लागि हो की या अरु कुनैको लागि हो त्यो भने टिजर र ट्रेलरमा खुल्ला ।
अनिल बुढा मगरको निर्देशनमा निर्माण भएको फिल्ममा दयाहाङ राई, सौगात मल्ल, तेरिया फौजा मगर, पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तम राज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहाना राना मगर, अनुशा राई, खड्गबहादुर पुन मगर (खबपु) लगायतको अभिनय रहनेछ। यसै फिल्मबाट तेरिया मगरले अभिनेत्रीका रुपमा डेब्यु गरेकी हुन्।
फिल्मका निर्माता जनक घर्ती मगर हुन् । जीएम मुभिज प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो फिल्मको सम्पादक लोकश बज्राचार्य, छायाकार शिशिर बिशंखे हुन भने कार्यशाला भोलाराज सापकोटाले गरेका छन्। फिल्मको वितरण आरआर फिल्मस्ले गर्नेछ ।





