‘होस्टेल’, ‘जेरी’, ‘ड्रिम्स’ र ‘गाजलु’ चलचित्रमा काम गरेपछि अहिले अनमोल केसीको लोकप्रियता राम्रैसँग चुलिएको छ । प्रदर्शनमा आएका यि चारै चलचित्रले सफलता हासिल गरेपछि उनको लोकप्रियता यसरी चलियो कि अहिले अनमोलले एक चलचित्रका लागि पारिश्रमिक मात्र नेपालका अन्य स्टारभन्दा महंगो लिन थालिसकेका छन् । हालै चलचित्र ‘कृ’ का लागि २० लाख पारिश्रमिक लिँदै अनुबन्धित भएका अनमोल अहिले यही चलचित्रको तयारीमा व्यस्त छन् ।
चकलेटी अनुहारका धनी अनमोल एक नेपाली उत्पादक कम्पनीको महंगा ब्राण्ड एम्बेसडर बनेका छन् । नेपालमा उत्पादन हुने डाबर बाटिका ‘प्रो स्टाइल’ तेलको ब्राण्ड एम्बेसडरमा अनमोल केसी नियूक्त भएका छन् । उनलाई तीन बर्षका लागि ब्राण्ड एम्बेसडरमा नियूक्त गरिएको स्रोतले बताएको छ । उनलाई तीन बर्षका लागि बार्षिक १० लाखमा अनुबन्धित गरिएको हो । यो रकम अहिलेसम्म कुनै पनि नेपाली स्टारले ब्राण्ड एम्बेसडर हुँदा पाएका छैनन् । अब अनमोलले ‘प्रो स्टाइल’ को विज्ञापन गर्नु पर्नेछ । विज्ञापनमा उनीसँगै ‘ड्रिम्स’ बाट डेब्यू गरेकी साम्राज्ञी राज्य लक्ष्मी शाह पनि देखिनेछिन्। खबरका अनुसार केही दिन भित्रमा एक कार्यक्रमका बिच अनमोल केसीले सो उत्पादनको सार्वजनिक गर्नेछन् । यसअघि गायक निमा रुब्बा ‘प्रो स्टाइल’ का ब्राण्ड एम्बेसडर थिए । विशेष गरी पुरुषका लागि भनेर नेपाली बजारमा आएको डाबर बाटिका ‘प्रो स्टाइल’ तेल नेपालको पहिलो तेल भएको कम्पनीको दाबी छ ।