भाद्र २४ गतेबाट देशव्यापी प्रदर्शनमा आएको चलचित्र ‘छक्का पन्जा’ ले हिजो शनिबारसम्ममा झण्डै ५ करोड नजिकको व्यापार गरिसकेको छ । यो व्यापार अहिलेसम्म कुनै पनि नेपाली चलचित्रले यति छोटो समयमा गर्न सकेका छैनन् । प्रदर्शनमा आएको दिनदेखी एकपछि अर्को नयाँ रेकर्ड बनाइरहेको चलचित्र ‘छक्का पन्जा’ को व्यापार हिजो शनिबार अझ उच्च रहेको छ । गएको शनिबार भन्दा हिजो शनिबार ‘छक्का पन्जा’ ले दर्शकहरुको उल्लेख्य साथ पाएको चलचित्रकी निर्देशक दीपाश्री निरौलाले जानकारी दिएकी छिन् ।
हिजो शनिबार चावाहिलस्थित गोपिकृष्ण हलमा बिहानी शो देखि नै चार वटा हल हाउसफूल रहेको थियो भने मध्यान्हमा त दर्शकले ‘छक्का पञ्जा’ को टिकट पाउनु पर्ने भन्दै नारा समेत लगाएका थिए । मध्यान्हको शो हेर्न गोपिकृष्ण हलमा पुगेका सयौं दर्शकहरुलाई निर्देशक दीपाश्रीले साँझको शोमा चलचित्र हेर्न आग्रह गरेकी थिइन् । त्यही अनुसार गोपिकृष्ण हलमा अर्को नयाँ रेकर्ड बनाउँदै चलचित्र ‘छक्का पन्जा’ को हिजो शनिबार राती ८ बजेको शो पनि राखिएको थियो । प्राप्त खबर अनुसार राती ८ बजेको शो पनि हासफूल रहेको थियो । अहिलेसम्म कुनै पनि नेपाली तथा हिन्दी चलचित्रका लागि गोपीकृष्णले राती ८ बजेको शो राखेको थिएन । यसअघि गोपीकृष्णमा नै एक शोमा ६ वटा हल हाउसफूल गराएर ‘छक्का पन्जा’ ले रेकर्ड बनाएको थियो ।
शनिबार काठमाडौं भित्र र बाहिरका अधिकांश सिंगल र मल्टिप्लेक्स हलहरु हाउसफूल रहेका थिए ।
यो चलचित्रमा शिवहरी पौडेल, केदार घिमिरे, जितु नेपाल, बुद्धि तामाङ, नम्रता सापकोटा, वर्षा राउत लगायत कलाकारहरुको अभिनय रहेको छ । चलचित्रलाई पहिलो पटक हास्यकलाकार दीपाश्री निरौलाले निर्देशन गरेकी हुन् ।