मोडलिङ तथा थिएटरबाट रंगीन दुनियाँमा प्रवेश गरेकी नायिका नम्रता श्रेष्ठ अहिलेकी चर्चित अभिनेत्री हुन् । ‘सानो संसार’, ‘मेरो एउटा साथी छ’, ‘छड्के’ चलचित्र हुँदै गएको बर्ष प्रदर्शनमा आएको सफल चलचित्र ‘क्लासिक’ सम्म आइपुग्दा उनले दर्जनबढी चलचित्रमा काम गरिसकेकी छिन् ।
केही चलचित्र असफल भएपनि उनले चलचित्र खेल्न भने छोडिनन् । त्यसैको फलस्वरुप केही बर्षयता उनले सफल चलचित्र दर्शकमाझ पस्किरहेकी छिन् । गएको बर्ष प्रदर्शनमा आएको चलचित्र ‘क्लासिक’ ले नम्रतालाई झन उचाईमा पुराएको छ । बर्ष ०७३ को सुरुवात देखी नै चलचित्र ‘क्लासिक’ बाट उनले लगातार सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड हात पार्दै आइरहेकी छिन् ।
विभिन्न विधामा फरक-फरक कलाकारले अवार्ड जिते पनि उत्कृष्ट नायिकाको विधामा भने यो बर्ष आयोजना भैरहेका अवार्डमा नायिका नम्रता श्रेष्ठनै हाबी भईन । ‘राष्ट्रिय चलचित्र पुरस्कार’ मा उत्कृष्ट नायिकाको अवार्ड हात पारेपछि उनलाई अवार्डको ओहिरो नै लाग्यो । ‘राष्ट्रिय चलचित्र पुरस्कार’ पछि उनले ‘फान अवार्ड’, ‘डि सिने अवार्ड’, ‘एलजी फिल्म अवार्ड’ र हालै सम्पन्न ‘एनएफडिसी अवार्ड’ मा सर्वोत्कृष्ट नायिकाको अवार्ड पाइन । यो बर्ष नम्रताका लागि अवार्डमय बर्ष बनेको छ ।
उनीसँग चलचित्र ‘क्लासिक’ मा अभिनय गरेका आर्यन सिग्देलका लागि पनि यो बर्ष अवार्डमय नै बनेको छ । आर्यनले पनि ‘फान अवार्ड’, ‘डि सिने अवार्ड’ र ‘एनएफडिसी अवार्ड’ बाट सर्वोत्कृष्ट नायकको अवार्ड हात पारिसकेका छन् । नम्रता बर्षमा एउटा मात्र चलचित्रमा काम गर्छिन् । तर, एउटा चलचित्रमा काम गरेपनि आधा दर्जन चलचित्रमा काम गर्ने अन्य नायिकाहरुमाथि उनी हाबी देखिएकी छिन् ।