केही बर्ष देखी हास्यकलाकार सिताराम कट्टेल (धुर्मुस) र केदार घिमिरे (माग्ने बुढा) बिच आन्तरिक द्धन्द्ध चलिरहेको खबर धेरै पटक बाहिर आइसकेको छ । गाईजात्रा संग्रह लिएर हास्यविधामा प्रवेश गरेका सिताराम कट्टेल र केदार घिमिरेले केही समयको अन्तरालमै नेपाल टेलिभिजनबाट ‘मेरी बास्सै’ नामक टेलिश्रृखला निर्माण गरे । तर आन्तरिक व्यबस्थापन मिलाउन नसक्दा एउटै टेलिश्रृखलामा अभिनय गरेता पनि पछिल्लो समय उनीहरु सँगै पर्दामा भने कहिले देखिएनन् । सिताराम कट्टेलले एकलौटी रुपमा ‘मेरी बास्सै’ मा हाबी हुन खोजेका कारण केदारले उक्त सिरियल छोडेको बताइन्छ । अहिले सार्वजनिक कार्यक्रममा भेट्दा मिडियाहरुको अगाडी मित्रता देखाएपनि केदार र सिताराम कट्टेलको भित्री सम्बन्ध खासै राम्रो नभएको स्रोत बताउँछ ।
अहिले नेपाली सञ्चारमाध्यमहरुमा केदार घिमिरे माग्ने बुढा डिप्रेसनको कारण विरामी भएको कुरा बारम्बार आइरहेको छ । केदारको स्वास्थ्यमा अहिले सुधार भइरहेको छ र उनी अभिनयमा पनि फर्किसकेका छन् । विरामीका कारण घरमा बेडरेस्टमा रहँदा केदारलाई मनपराउनेहरु उनको स्वास्थ्य अबस्था बुझ्न घरसम्म नै पुगे तर उनका समकालिन साथी सिताराम कट्टेल ‘धुर्मुस’ एकपटक पनि भेट्न गएनन् भन्ने खबर खुबै चल्यो । तर हालै सो आरोपमाथी धुर्मुसले फेसबुकमा माग्ने बुढा र उनको संघर्षकालिन समयमा खिचेको फोटो पोस्ट गर्दै मर्मस्पर्शी केही शब्द पनि कोरेका छन् ।
उनले लेखेको स्टाटस यस्तो छ :-
‘हेर्दै जाँदा धेरै अघिको फोटो भेटियो। गिरान्चौर एकिकृत बस्ती निर्माण रहिरहँदा पनि करिब एक महिना अघि केदार घिमिरे (माग्ने बुढा) कै घरमा भेट्न पुगेका थियौँ। कुराकानी गरियो, स्वास्थ्य समस्या ठिक हुँदैछ भन्नुभयो। हाम्रो मिलनबाट नै धुर्मुस र माग्ने बुढा जन्मिएको हो। निकट सम्बन्ध रहेका कारण उहाँको पिडा र समस्याले मलाई पनि सताउँछ। त्यसैले, फोन गरेर अहिले पनि स्वास्थ्य अवस्थाबारे जानकारी लिइरहेको हुन्छु। मलाई पनि पेटको समस्या छ, त्यसैले पहिले खाइ नखाइ हामी मिलेर गरेको दु:ख सम्झिन्छु।’
यो स्टाटसले ‘माग्ने बुढा’ को स्वास्थ्य अबस्थालाई लिएर सिताराम कट्टेल निकै चिन्तित रहेको अनुमान लगाउन सकिन्छ । हाल ‘धुर्मुस-सुन्तली’ सिन्धुपाल्चोकमा भुकम्पले ध्वस्त भएको गिरान्चौर बस्ती निर्माणमा लागि रहेका छन् । आज सिताराम कट्टेल ‘धुर्मुस’ को जन्मदिन समेत परेको छ । सितारामको जन्म वि.स २०४० सालमा सोलुखुम्बु जिल्लाको नेचाबेतघारी गाविसको वडा नं ७ मा भएको थियो । .