एकसाथ चार घण्टामा खिचिसक्ने दुई चलचित्र ‘जालो’ र ‘जालो रिटर्न्स’ मध्ये ‘जालो’को अफिसियल लिरिकल भिडियो सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै निर्माणपक्षले बासुदेव मुनालको शब्द तथा संगीतमा रहेको ‘बाउ बाजेको पालाको’ बोलको गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको हो। मुनालले यो गीतलाई आजभन्दा ३८ बर्षअघि संगीतबद्द गरेका थिए ।
कार्यक्रममा निर्देशक अराज केशवले चलचित्रको क्यामेरा अन भएपछि एकैचोटी कट हुनेछ र चलचित्रको छायांकन सकिने बताए । करिब ४ घन्टामा चलचित्र खिचिसक्ने योजना आफ्नो रहेको अराजले जानकारी दिएका छन् । यसरी चलचित्र बनेपछि गिनिज बुकमा नाम लेखिने पनि उनले बताए । चलचित्रमा अनुपविक्रम शाही, आशिफ शाह, भानु प्रताप, मेनुका प्रधान, बर्षा सिवाकोटी, प्रकाश श्रेष्ठ, मुक्ताराम आचार्य, भिष्म जोशीको मुख्य भूमिका रहनेछ । चलचित्रमा मोहित मुनालको लगानी रहनेछ ।
साथै उक्त कार्यक्रममा निर्माणपक्षले ‘बाउ बाजेको पालामा’ बोलको गीतमा कभर डान्स प्रतियोगिता पनि घोषणा गरेको छ । कभर डान्स गर्ने उत्कृष्ट प्रथम तथा दोश्रो समूहले चलचित्र ‘जालो’ र ‘जालो रिटर्न्स’मा कोरियोग्राफी साथै गीतमा अभिनय गर्ने मौका पाउनेछन् । चलचित्रको छायांकन असोजमा हुनेछ । चलचित्रमा करिब ६० जना कलाकार हुनेछन् ।