न घाम, न पानी, न सन्तान मात्र जनताले दुख नपाउन भनेर साँझ विहान ढुंगा-माटोमा रगत-पसिना एक गरेर हास्यकलाकार सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली) ले सिन्धुपाल्चोकको गिरानचौरमा एकीकृत नमूना बस्तीका ६५ वटै घर बनाइसकेका छन् । हाल ६५ वटा घरमा जस्ताको छानो लगाउने काम भइरहेको छ । सिताराम कट्टेलले दिएको जानकारी अनुसार अहिले बस्नका लागि तयार पारिएका ६५ वटा घर र सामुदायिक भवनको समेत संरचना निर्माणको काम सकिएको छ। ‘धुर्मुस-सुन्तली’ को तयारी थियो घटस्थापनाका दिनसम्म ६५ वटै घर हस्तान्तरण गर्ने तर दशैं अघि बस्ती हस्तान्तरण गर्न नसकिने भएको छ । लगातार परिरहेको पानीले गर्दा अहिले दैनिक जसो काममा ढिलाई भइरहेको सिताराम कट्टेल (धुर्मुस) ले जानकारी दिए । उनले भने -‘जेठदेखि नै निरन्तर पानी परिरहेकाले वर्षाको असर बस्ती निर्माणमा परेको छ।
वर्षाका कारण कच्ची बाटो ग्राभेल गर्नु परेकाले २५ दिनसम्म बस्ती निर्माणको काम रोकिएको थियो । बस्तीलाई पहिरो निरोधक बनाउने योजनाअनुरुपको काम गर्दा पनि वर्षाले नै असर गरेपछि केही दिन काम स्थगित भएको थियो। निरन्तर वर्षा हुँदा घोलेका मसाला बगाउनेलगायत अन्य समस्याले गर्दा सोचेको समयमा बस्ती हस्तान्तरण गर्न नसकेका हौं ।’
उनका अनुसार अहिले ६५ वटा घरमा छानो लगाउने, रङरोगन गर्ने, भुइँ चिल्लो बनाउने लगायतका काम तीब्र गतिमा भइरहेका छन्। यो बस्ती निर्माणका लागि ५ करोडमाथी लागेको बताइएको छ । यो रकम प्रधानमन्त्री पुष्पकमल दाहाल देखी देश विदेशमा रहेका नेपालीहरुले सहयोग गरेर जुटाएका हुन् ।