आजबाट ८८ बर्षमा लागेकी भारतीय गायिका लता मंगेशकर भारतकै सबैभन्दा प्रख्यात र सम्मानित पार्श्व गायिका हुन् । सेप्टेम्बर २८, १९२९ मा भारतको इन्दौरमा जन्मिएकी लताले सन् १९४२ बाट गीत गाउन सुरु गरेकी हुन् । त्यसपछि हालसम्ममा उनले तीस हजारभन्दा बढी गीतहरु गाइसकेकी छिन् । ३६ भाषाहरूमा स्वर दिइसकेकी लताले छ पटक फिल्म फेयर पुरस्कार, तीनपटक राष्ट्रिय पुरस्कार, दुई पटक महाराष्ट्र सरकार पुरस्कारसँगै पद्म भूषण, दादा साहब फाल्के पुरस्कार लगायत दर्जन बढी अवार्ड र परस्कारबाट सम्मानित भइसकेकी छिन् ।
उनले भारतीय गीतसँग नेपाली केही गीतहरुमा पनि आफ्नो आवाज मिसाइसकेकी छिन् । लताले पहिलो प्राइभेट व्यानरमा बनेको नेपाली चलचित्र ‘माइतीघर’ मा ‘तिमीलाई शुभकामना’ बोलको गीत गाएकी छिन् । लताले गाएको चलचित्र ‘माइतीघर’ मा समाबेश ‘तिमीलाई शुभकामना’ बोलको गीतलाई राजा वीरेन्द्रले लेखेका थिए । गीतमा भारतीय संगीतकार जयदेवको संगीत थियो । गायिका लताले आफ्नो जन्मदिनको अवसरमा भारतीय अनलाइन ‘द क्विन्ट’सँगको अन्तर्वार्तामा ‘माइतीघर’ चलचित्रका लागि गाएको गीत आफ्नो करिअरकै अप्ठेरोमध्येको एउटा गीत रहेको बताएकी छिन् । उनले भनिन्, संगीतकार जयदेव कुनै गीतमा संगीत भरेपछि सबै तनाव मेरै जिम्मामा छाडिदिन्थे । गीतमा के गर्नुपर्छ भनेर पहिले नै भनिसकेपछि आफूले आत्तिनुपर्ने जरुरी छैन भन्थे ।’ उनले चलचित्र ‘माइतीघर’ मा समाबेश ‘काला कुर्तैले’ बोलको गीत पनि गाएकी थिएन्, जसमा उनलाई सिपी लोहनीले साथ दिएका थिए । त्यसको लामो समय पछि उनले ‘बाचुन्जेली’ बोलको गीत गाइन जुन निकै चर्चित भयो । यो गीतमा लता र रामकृष्ण ढकालको आवाज छ । मंगेशकर गिनिज बुकमा सन् १९७४ देखि १९९१ सम्म सबैभन्दा बढी गीतहरू रेकर्ड गराउने गायिकाको रूपमासमेत दाखिल भएकी थिईन।