राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशमशेर राणाले राप्रपा नेपालले हिन्दू–गणतन्त्रलाई स्वीकारेकोले पार्टी एकता हुने निश्चित भएको बताएका छन् ।
बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष राणाले भने,‘राप्रपा नेपालसँगको पार्टी एकता हुन्छ, हिन्दू–गणतन्त्रलाई मुख्य एजेण्डा मानेर जाने सहमति भएको छ, बाँकी मुद्दा महाधिवेशनपछि टुँगो लगाउँछौं ।’
उनले आगामी चैतमा महाधिवेशन हुने र महाधिवेशनबाटै संघीयताको बारेमा सहमति गर्ने जनाए ।
उनले थपे,‘संघीयता र गणतन्त्रलाई राप्रपाले स्वीकारिसकेको छ, पार्टी एकता हुँदापनि यसकै सेरोफेरोमा टेकेर समझदारी बनाएर अघि बढ्छौं ।’ राणाले दुई पार्टीवीचको एकता नेपाललाई हिन्दू–गणतन्त्र बनाउनका लागि भएको दाबी गरे । उनले भने,‘अब नेपाल छिट्टै हिन्दूराष्ट्र हुन्छ ।’ -सरल पत्रिका डटकम