भदौंको सुरुवात नेपाली चलचित्रक्षेत्रका लागि केही आशलाग्दो देखिएको थियो । भदौंको सुरुवातमा नै एकै मितिमा दुई चलचित्र प्रदर्शनमा आएका थिए, ‘चपली हाईट २’ र ‘वीर विक्रम’ । यि दुवै चलचित्रले आफ्नो लगानी सुरक्षित गरेको बताइएको छ । त्यसपछि प्रदर्शनमा आएका अन्य चलचित्रहरुले खासै सुखद व्यापार गर्न सकेनन् । अनि लाग्यो भदौ २४ । यो मितिमा सोलो रिलिजको मौका पायो चलचित्र ‘छक्का पन्जा’ ले । ‘छक्का पन्जा’ ले आफ्नो लगानी मात्र होइन कयौं रेकर्ड ब्रेक गर्दै बोराका बोरा पैसा बटुल्न सुरु गर्यो । दैनिक सिनेमा घरहरुमा ‘छक्का पन्जा’ हेर्न दर्शकहरुको महासागर नै लागिरहेको बेला भदौ ३१ गते दुई चलचित्र प्रदर्शनमा आए तर ‘छक्का पन्जा’ को अगाडी दुवै चलचित्र फ्ल्पको सूचीमा दर्ता भए । केही आश थियो चलचित्रकर्मीहरुलाई भदौ ३१ गते प्रदर्शनमा आएको चलचित्र ‘गाँठो’ बाट तर कमजोर कथावस्तुका कारण ‘गाँठो’ दुई दिन पनि हलमा टिक्न सकेन ।
त्यसपछि प्रतिक्षित मानिएको चलचित्र ‘झुम्की’ असोज ७ गतेबाट प्रदर्शनमा आयो तर यो चलचित्रले पनि ‘छक्का पन्जा’ को अगाडी कमाल गर्न सकेन । यही बिच चलचित्र ‘छक्का पन्जा’ चौथो हप्तामा लाग्यो र असोज १४ गते चलचित्र ‘सफर’ र ‘सत्यदीप’ ले प्रदर्शन आरम्भ गरे । अहिले यि दुई चलचित्रको अबस्था दयनिय छ । चलचित्र ‘सफर’ ले समिक्षकहरुबाट राम्रै प्रतिक्रिया पाएपनि अहिले चलचित्र हेर्न हलमा भने दर्शक नै छैनन् । अझ चलचित्र ‘सत्यदीप’ त हलमा लागेको समेत थाहा छैन दर्शकहरुलाई । चलचित्र ‘छक्का पन्जा’ ले प्रदर्शन आरम्भ गरेपछि अहिलेसम्म ५ नेपाली चलचित्रहरु असफल भइसकेका छन् । ‘छक्का पन्जा’ रिलिज भएपछि ‘गाँठो’, ‘ड्राइभर दाई’, ‘झुम्की’, ‘सफर’ र ‘सत्यदीप’ प्रदर्शनमा आएका थिए तर यि पाँचै चलचित्रको दुखद अन्त्य भएको छ । अब सबैको ध्यान असोज २१ गते छ । यो मितिमा दुई प्रतिक्षित चलचित्र प्रदर्शनमा आउँदैछन्, ‘किस्मत २’ र ‘सुब्बा साब’ । अब यो हेर्न बाँकी छ कि ‘किस्मत २’ र ‘सुब्बा साब’ ले चाहिँ कस्तो विजनेश गर्ने हुन । लगातार प्रतिक्षित मानिएका चलचित्रहरु असफल हुँदै गर्दा ‘छक्का पन्जा’ ले भने अहिले हलहरुमा राम्रै राज गरिरहेको छ ।