लामो समयदेखी निर्माण हुने भनिएता पनि विभिन्न कारणले फ्लोरमा जान नसकेको चलचित्र ‘रोमियो’ को अब भने निर्माण कार्य सुरु हुने भएको छ । यो चलचित्रलाई नव–निर्देशक शंकर कार्कीले निर्देशन गर्दैछन् । यसअघि यो चलचित्रलाई नारायण पुरीले निर्देशन गर्ने कुरा थियो । तर, पुरी अमेरिका गएपछि चलचित्रको काम रोकिएको थियो । दशैको टिका लगतै चलचित्रको छायांकन सुरु हुनेछ । एचआरके प्रोडक्शनको ब्यानरमा निर्माण हुन लागेको दोश्रो चलचित्रमा हसनराजा खानको लगानी रहनेछ । चलचित्रमा नायिका नीशा अधिकारी र निर्माता तथा नायक हसनराजा खान मुख्य भूमिकामा हुनेछन् । लीड रोलका लागि केही नायिका यसअगाडि पनि चयन भएका थिए । तर, अन्त्यमा नीशाले ‘बाबरी’ को क्यारेक्टर गर्ने भएकी हुन् । नीशाले चलचित्रका लागि मौखिक सहमती भैसकेको र दसैं लगतै चलचित्रलाई आफूले समय दिने बताएकी छिन् । चलचित्रमा नव–कलाकार ओसिमा बनु पनि हुनेछिन् । साथमा विकास खतिवडा, विपेन गुरुङ पनि चलचित्रमा मुख्य भूमिकामा हुनेछन् । चलचित्रको निर्माणपक्षले दशैंको शुभकामना दिँदै चलचित्रको मोसन पोष्टर पनि एक भिडियो मार्फत सार्वजनिक गरेको छ ।