अस्ट्रेलियाको ब्रिस्बेन घर भएकी एक युवतीले विगत ४ वर्षमा ३५ मुलुकको भ्रमण गरेकी छन् ।
२२ वर्षीया निकोला इस्टरबाय अहिले विश्वमा चर्चित भएकी छन्, यहाँसम्म कि, उनलाई विभिन्न मुलुकका रमणीय स्थानमा घुमाउनका लागि लगानी गर्नेहरुको होड नै चलेको छ ।
यसको एउटै कारण छ, उनी जहाँ जान्छिन्, त्यो ठाउँको बारेमा आफ्नो ब्लगमा तस्वीरसहित सम्बन्धित ठाउँको वर्णन गर्छिन् । उनको ब्लग निकै चर्चित भएका कारण पनि कयौं ट्राभल कम्पनीहरु आफ्नै लगानीमा उनलाई विभिन्न स्थानको भ्रमण गराउन लालयित हुने गरेका छन् ।
नयाँ ठाउँ घुम्ने रहर पुरा गर्न एक वर्ष पढाइ स्थगित गरेकी उनले लगातार ४ वर्ष विश्वका विभिन्न मुलुकको भ्रमण गरिन्, जसमा नेपाल पनि परेको छ । नेपालको पोखरा र आसपासको क्षेत्रमा उनले करिब दुई वर्षअघि भ्रमण गरेकी थिइन् ।
उनले ‘विश्वका १४ सर्वाधिक सुन्दर स्थान’ शीर्षक दिएर आफ्नो ब्लगमा १४ ठाउँको सूची जारी गरेकी छन्, जसमा पोखराले पनि १० औं नम्बरमा स्थान पाएको छ ।
निकोला १५ वर्षको उमेरमा पहिलो पटक विदेश भ्रमणका रुपमा कम्बोडिया गएकी थिइन् । त्यतिबेलादेखि नै उनलाई विभिन्न स्थानको भ्रमण गर्ने रहर पलायो । उनी भन्छिन्, ‘एक वर्ष कलेज गएपछि मलाई आफू एकै ठाउँ धेरैदिन बस्न सक्दिनँ भन्ने लाग्यो, त्यसैले मैले एक वर्ष पढाइ स्थगित गर्ने निधो गरेँ ।’
आफूले सकेजति पैसा जम्मा गरेर चार महिनाका लागि युरोप भ्रमणमा निस्किएको उनले स्मरण गरिन् । उनले त्यसबेला नै आफ्नो भ्रमणका बारेमा साथीहरु र परिवारलाई जानकारी दिन ब्लग लेख्न थालिन् । नचिनेका मानिसले आफ्नो ब्लग हेर्न नपाउन् भनेर उनले त्यसलाई आफ्नो फेसबुकमा समेत सेयर गरिनन् तर पनि उनको ब्लग चर्चित हुन थाल्यो ।
उनी भन्छिन्, ‘मलाई ब्लगबाट पनि पैसा कमाउन सकिन्छ भन्ने ढिलोगरी थाहा भयो ।’ करिब डेढवर्षपछि मात्र उनले आफ्नो ब्लग र इन्स्टाग्रामलाई व्यावसायिक रुपमा विकास गरिन् ।
सुरुका दुई वर्ष उनले आफ्नै खर्चबाट भ्रमण गरिन् । त्यसपछि उनले फोटोग्राफीलाई पेशा बनाइन् । जसबाट केही रकम आर्जन हुन थाल्यो । तर अहिले उनको ब्लग र फोटोग्राफी चर्चित भएकै कारण कयौं कम्पनीहरुले उनलाई निःशुल्क भ्रमण गराउँछन् ।
नेपाल भ्रमणललाई सम्झदैं उनले भनिन्, ‘म नेपाल जाँदा होटलमा बसिनँ, एक सामान्य मानिस झैं रहेँ, गाउँघर घुमेँ, भुईमै ओछ्यान लगाएर सुतेँ ।’ नेपाली बालबालिकाका साथ नृत्य गरेको, नदीमा नुहाएकोजस्ता घटना आफ्नो स्मरणमा रहिरहने उनले उल्लेख गरेकी छन् । (एजेन्सी)