आजबाट प्रतिक्षित मानिएका दुई नेपाली चलचित्र एकसाथ प्रदर्शनमा आएका छन् । चलचित्र ‘किस्मत २’ र ‘सुब्बा साब’ आजबाट सिनेमा घरहरुमा एकसाथ प्रदर्शनमा आएका छन् । ऋषि लामिछानेले निर्देशन गरेको चलचित्र ‘किस्मत २’ मा शिल्पा पोख्रेल, किशोर खतिवडा र पृथ्वीराज प्रसाईको अभिनय रहेको छ ।
पृथ्वीराज प्रसाईको यो पहिलो डेव्यू चलचित्र हो । यो चलचित्रलाई छविराज ओझाले निर्माण गरेका हुन् । चलचित्रमा सामिप्यराज तिमिल्सिनाको पटकथा तथा संवाद, दिजेन्द्र शाक्यको निर्माण, मदनकाश्यप घिमिरेको छायांकन, अर्जुन पोख्रेलको संगीत, रामजी लामिछाने र कमल राइको नृत्य निर्देशन, चन्द्र पन्तको एक्सन रहेको छ ।
त्यस्तै चलचित्र ‘किस्मत २’ सँग एकसाथ प्रदर्शनमा आएको अर्को चलचित्र ‘सुब्बा साब’ मा जीवन लुइँटेल, सरोज खनाल, गौरी मल्ल, वर्षा शिवाकोटी, जानवी बस्नेत लगायतका कलाकारहरुको अभिनय रहेको छ । आशुतोष फिल्मस् प्रोडक्सन प्रालि र शुभ सक्षम म्युजिक प्रालिको व्यानरमा निर्माण भएको यो चलचित्रमा राजु अधिकारीको निर्देशन छ । हिरामणि न्यौपानेको प्रस्तुतिमा तयार भएको चलचित्रमा रामबहादुर कोइरी, कुलचन्द्र पाण्डे, जीवन अर्याल र रामु अधिकारीको लगानी छ । दुवै चलचित्र दर्शकहरुका लागि प्रतिक्षित भएका कारण यो पटकको फ्राइडे रिलिजमा उत्रिएका यि दुई चलचित्रको लडाई सिनेमा घरहरुमा राम्रै हुने देखिन्छ । अझ यि दुई चलचित्रका लागि चुनौती त गएको महिना भदौ २४ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘छक्का पन्जा’ छ । अहिले पनि हलहरुमा राम्रै दर्शकहरु भित्राइरहेको ‘छक्का पन्जा’ ले रिलिजमा आएको दिनदेखी अहिलेसम्म ५ नेपाली चलचित्रलाई फल्प बनाइसकेको छ । अब हेर्न यो बाँकी छ कि ‘किस्मत २’ र ‘सुब्बा साब’ को अगाडी चाहिँ ‘छक्का पन्जा’ को जादु कस्तो चल्ने हो ? तर दुवै चलचित्रका निर्माताहरु आफ्नो चलचित्रले हलमा दर्शकहरु राम्रै हुल्न सफल हुनेमा ढुक्क छन् ।