गएको बर्ष प्रदर्शनमा आएको सुपरहिट चलचित्र ‘प्रेमगीत’ को शीर्ष गीत ‘म यस्तो गीत गाउँछु’ निकै चर्चित भयो । चलचित्र ‘प्रेमगीत’ सफल हुनुमा यो गीतको पनि महत्वपूर्ण योगदान थियो । उक्त गीतलाई गायिका अञ्जु पन्त र गायक सुगम पोख्रेलले गाएका थिए भने संगीत अर्जुन पोख्रेलले दिएका थिए । यो गीतबाट यस बर्ष संगीतकार अर्जुन पोख्रेल र गायिका अञ्जु पन्तले अवार्डहरु पनि थापिरहेका छन् । अब फेरी सोही टीमले चलचित्र ‘म यस्तो गीत गाउँछु’ को शीर्ष गीतको रेकर्ड सम्पन्न गरेको छ ।
सुदर्शन थापाको निर्माण र निर्देशनमा बन्न लागेको चलचित्र ‘म यस्तो गीत गाउँछु’ को शीर्ष गीतलाई गायिका अञ्जु पन्त र गायक सुगम पोख्रेलले गाएका छन् भने गीतमा संगीत अर्जुन पोख्रेलले भरेका छन् । गीतमा संगीतकार पोख्रेलकै शब्द रहेको छ । चलचित्रका निर्देशक सुदर्शन थापाका अनुसार चलचित्र ‘म यस्तो गीत गाउँछु’ मा तीन गीत रहनेछन् । एक गीतमा संगीतकार पोख्रेलको पनि स्वर रहनेछ । तिहारपछि छायाँकन सुरु हुने यो चलचित्रमा नायक पल शाह र नायिका पुजा शर्मा मुख्य भुमिकामा रहनेछन् ।