नेपालमा एक चलचित्र हिट भएपछि त्यसको सिक्वेल बनाउने क्रम राम्रै मौलाइरहेको छ । हिट भइसकेको चलचित्रको सिक्वेल बनाउँदा पव्लिसिटीमा खासै दुख गर्नु नपर्ने भएका कारण पनि यस तर्फ पछिल्लो समय नेपाली चलचित्रकर्मीहरुको ध्यान बढी नै गएको देखिन्छ । यही भिडमा नायिका रेखा थापा पनि थपिएकी छिन् । आफ्नो व्यानरमा बनेका चलचित्रहरु हिट भएपनि त्यसको सिक्वेल बनाउन तर्फ खासै ध्यान दिने नगरेकी रेखा अब भने हिट चलचित्रको सिक्वेल बनाउन अगाडी सरेकी छिन् ।
सन् २०१० मा प्रदर्शनमा आएको रेखा फिल्मसको व्यानरमा बनेको चलचित्र ‘कसले चोर्यो मेरो मन’ को सिक्वेल रेखा थापाले बनाउने भएकी छिन् । प्रत्येक बर्ष आफ्नो होम प्रोडक्शनबाट नयाँ चलचित्र निर्माण गर्ने रेखाले गएको बर्ष ‘रामप्यारी’ चलचित्र निर्माण गरेकी थिइन् । यस बर्ष भने उनले अन्य व्यानरमा बनेका तीन चलचित्रमा काम गरेकी छिन् । माघ महिनाबाट छायाँकन सुरु गर्ने गरि अहिले नायिका रेखा चलचित्र ‘कसले चोर्यो मेरो मन’ को सिक्वेल निर्माणमा लागेकी छिन् । रेखाले दिएको जानकारी अनुसार, चलचित्रको नाम ‘कसले चोर्यो मेरो मन फेरी’ हुनेछ । चलचित्रलाई निर्देशक सविर श्रेष्ठले निर्देशन गर्ने पक्का भइसकेको छ । सविर श्रेष्ठले ६ बर्ष अगाडी ‘कसले चोर्यो मेरो मन’ निर्देशन गर्दै चलचित्रक्षेत्रमा भित्रिएका थिए । नायिका रेखा थापाका अनुसार अहिले चलचित्रका लागि नायकको खोजी भइरहेको छ ।चलचित्र ‘कसले चोर्यो मेरो मन’ मा एकसाथ स्क्रिन शेयर गरेका नायक आर्यन सिग्देल र रेखाको सम्बन्ध अहिले पानी बाराबारको छ । यो चलचित्रमा रेखा थापा र आर्यनको जोडीलाई दर्शकहरुले निकै रुचाएका थिए । आफुसँग काम गर्ने कलाकारलाई राम्रो ब्यबहार नगर्ने भएका कारण चल्तीका नायक निखिल उप्रेती, विराज भट्ट, आर्यन सिग्देल, राजेश हमाल, आयूष रिजाल लगायतका धेरै कलाकारहरु उनको फिल्ममा काम गर्न तयार छैनन् । यस कारण पनि रेखालाई यो चलचित्रमा नयाँ कलाकार लिनुको अरु विकल्प नै छैन ।
स्रोतका अनुसार नायक आर्यन सिग्देल नायिका थापासँग कुनै पनि अबस्थामा एकसाथ काम गर्ने मनसायमा छैनन् त्यसैले पनि यो चलचित्रमा आर्यन र रेखाको जोडी एकसाथ देख्नु भनेको लगभग असम्भब हो । केही महिना अगाडी एक अन्तर्वार्तामा नायिका रेखा थापाले चलचित्र ‘कसले चोर्यो मेरो मन’ को सिक्वेल बने पहिलो पटक नायकको रुपमा आर्यन सिग्देललाई नै अफर गर्ने बताएकी थिइन् तर यो कुरा रेखामा मात्रै सिमित हुने देखिन्छ । यो चलचित्रमा रेखा आफै मुख्य भुमिकामा देखिदैछिन् ।