नेपालको भोजपुर खावा भन्ने ठाउँमा जन्मिएका नायक दयाहाङ राईलाई नचिन्ने अहिले सायदै होलान र उनको अभिनयको तारिफ नगर्ने पनि । रंगमन्च हुँदै चलचित्रको पर्दामा उदाएका दयाहाङ राई अहिलेका सफल र व्यस्त नायक हुन् । २००६ बाट नेपाली चलचित्रमा अभिनय यात्राको थालनी गरेका दयाहाङ राईले अहिलेको अवधीसम्म दुई दर्जन बढी चलचित्रमा काम गरिसकेका छन् भने उनका एकाध चलचित्र बाहेक धेरै चलचित्रहरु सफल छन् ।
भोजपुरको साधारण परिवारमा हुर्किएर रंगमन्च तर्फ लाग्दा दयाहाङलाई पनि लागेको थिएन कुनै समय नेपाली चलचित्रको हिरो बन्छु भनी तर उनलाई अभिनयको रस भने सानै देखी थियो । भोजपुरको पश्चिमी गाविस खावा वडा नं. ५ मा २०३७ साल बैशाख १ गते जन्मिएका दयाहाङले १६ वर्षसम्म खावा गाविसमा नै खेतीपाती र गाईबस्तु गोठालो गर्दै विताएका थिए । उनले खावा गाविसको दिल प्राथामिक विद्यालय, पशुपति मावि हुदै अन्नपूर्ण गाविसको अन्नपूर्ण उच्च माध्यामिक विद्यालय भोजपुरमा एसएलसिसम्मा अध्यान गरे । एसएलसिपछि भोजपुर बहुमुखी क्याम्पसमा आइए पढेका दयाहाङ राई भोजपुरबाट काठमाडौ छिरेपछि लूट, लोफर, झोले, कबड्डी, अनागरिक, मेरो एउटा साथी छ, दाशढुंगा लगायत करिब २ दर्जन नेपाली चलचित्र र १६ भन्दा बढी नाटकमा अभिनय साथै ६ बढी नाटक निर्देशन गरेका छन् ।
नाटक निर्देशन गर्ने सपना संगालेर भोजपुर छोड्दै काठमाडौं हानिएका दयाहाङले एक अन्तर्वार्ताको क्रममा भोजपुर छोड्दा आफुले यस्तो साथ, माया र सफलता पाउनेमा सोच्दै नसोचेको बताउँछन् । उनी भन्छन्, ‘यो मैले कहिले पनि नसोचेको कुरा हो। त्यही भएर म आफूले आफैंलाई एकदम भाग्यमानी ठान्छु। किनभने जुन ठाउँमा म जन्में, जुन परिवेशमा हुर्कें, बढें, त्यहाँबाट देखिने सपना यत्रो ठूलो होइन। यो मैले कहिले पनि नदेखेको सपना हो र कहिले पनि नसोचेको प्राप्ति हो।’
उनी आफुले पाएको सफलताको श्रेय भने आमाबुबालाई दिन्छन् । उनी अगाडी भन्छन्, ‘मैले पाएको सफलताको श्रेय मेरा बाबाआमा दिन चाहन्छु, जसले मलाई जन्माउनु भयो, हुर्काउनु भयो र आजसम्म छोरा तैंले के गर्दैछस् भनेर एकशब्द सोध्नु पनि भएन। पछि काठमाडौ आएपछि मेरा काका काकी जसले म आफ्नो करियर बनाउन संघर्ष गरिरहँदा लामो समय आश्रय दिनु भयो उहाँहरुलाई, निःसन्देह मेरो जीवनसंगिनी जोसंग नाता जोडिएपछि मेरो प्रत्येक दुःख सुखमा साथ दिइरहेकी छिन् र तमाम मलाई माया गर्ने नेपाली सिनेप्रेमी दर्शकहरु जो नभएको भए म आज यो स्थानमा हुने नै थिइनँ। उहाँहरुलाई नै म यो सफलताको श्रेय दिन चाहन्छु।’
दयाहाङलाई चलचित्र भन्दा नाटक अलि गाह्रो लाग्छ । उनी भन्छन्, ‘नाटकमा अभिनय गर्नु अलिक चुनौति भए पनि मेरो अभिनय यात्रा नै नाटकबाट सुरु भएर होला सायद म रंगमन्चमा अभिनय गर्दा गज्जबको वातावरण पाउँछु र रमाउँछु ।’
एकसमय नायक दयाहाङ राईलाई लाहुरे बन्न खुबै मन लागेको थियो तर उनी त्यसमा भने असफल भए । ‘मलाई आर्मीको हाऊभाऊ सानै देखी असाध्यै मन पर्थ्यो र हाम्रो गाउँ ठाउँको र हाम्रो समुदायको युवाहरुले एक समयमा लाहुरे हुन खोज्नु सामान्य कुरा हुने गर्थ्यो । लाहुरे हुनका लागी असाध्यै कठिन शारीरिक छनौट प्रकृयाहरु पूरा गर्नु पर्ने तर म त्यस मामिलामा अलिक कमजोर थिएँ । मलाई सानोदेखी नै खासै दौडधुप गर्न मन लाग्दैन थियो तर आर्मी हुनका लागि निकै शारीरिक मेहेनत र परिश्रम गर्नु परथ्यो । त्यही भएर सफल भइनँ। यो मामिलामा चाहिँ असफल योध्दा जस्तै भएँ म ।’ उनले भने ।
अर्को बर्षको असारसम्म एकपछि अर्को चलचित्रमा व्यस्त नायक दयाहाङ राईको यही बर्षको मंसीरमा प्रतिक्षित मनाएको नयाँ चलचित्र ‘पुरानो डुङ्गा’ प्रदर्शनमा आउँदैछ ।