अभिनेत्री करिश्मा मानन्धर पछिल्लो समय चलचित्रलाई भन्दा पनि डा.बाबुराम भट्टराई संयोजक रहेको नयाँ शक्ति पार्टीमा बढी जसो समय दिँदै आइरहेकी छिन् । केही महिना अगाडी औपचारिक रुपमा नयाँ शक्ति पार्टी प्रवेश गरेकी करिश्माले अहिलेसम्म पार्टी भित्र महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै आइरहेकी छिन् । पार्टी भित्र खासै महिला सहभागीता नभएका कारण पनि अहिले करिश्माले नयाँ शक्ति पार्टी भित्र राम्रै पकड जमाउँदैछिन् । दर्शकहरुले सजिलै चिन्ने भएका कारणले पनि पार्टीले उनलाई विशेष प्राथमिकता पनि दिँदै आइरहेको छ । त्यही क्रममा नयाँ शक्ति पार्टी, नेपालको केन्द्रीय कार्यालयले कार्यविभाजन हेरफेर गरेको छ । पार्टीले नायिका मानन्धरलाई वैचारिक–राजनीतिक तथा साँस्कृतिक अभियान कार्ययोजनाको सदस्यको जिम्मेवारी दिएको छ । वुधबार पार्टीको मुख्य कार्यालयमा बसेको बैंठकमा नायिका करिश्मा पनि उपस्थित भएकी थिइन् । केही महिना अगाडी पार्टीको घोषणा सभामा उनले गरेको उद्घोषणको चौतर्फी आलोचना भएको थियो । उनको उद्घोषण शैली देखी बाबुराम भट्टराई पनि रुष्ट भएको बताइएको थियो । त्यति मात्र होइन सोही कारणले गर्दा करिश्माले नयाँ शक्ति पार्टी छोडेको पनि हल्ला चलेको थियो तर उनी अहिले नयाँ शक्ति पार्टीमा नै सक्रिय हुँदै आएकी छिन् ।