चलचित्र ‘अलविदा’ का निर्माता तथा नायक हसनराजा खानले दोस्रो प्रोजेक्टको घोषणा गरेका छन् । ‘एचआरके प्रोडक्सन’ को व्यानरमा हसनले चलचित्र ‘रोमियो’ निर्माण गर्न लागेका हुन् । बिहिबार राजधानीमा एक कार्यक्रमका बिच चलचित्रको औपचारिक निर्माण घोषणा गरिएको छ । चलचित्रमा हसनसँगै मेलिना मानन्धर, नीशा अधिकारी, भानुप्रताप ढकाल, ओसिमा बनु, विपेन गुरुङ, विकास खतिवडा लगायतका कलाकारको अभिनय रहनेछ । चलचित्रलाई नव-निर्देशक शंकर कार्कीले निर्देशन गर्नेछन् । कार्यक्रममा बोल्दै निर्देशक शंकर कार्कीले चलचित्र ‘रोमियो’ लाई स्तरीय बनाउन कुनै कसरत बाँकी नराख्ने बताए । त्यस्तै निर्माता एवं कलाकार हसनराज खानले चलचित्र ‘रोमियो’ आफ्नो ड्रिम प्रोजेक्ट रहेको बताउँदै चलचित्रलाई उत्कृष्ट बनाउन झण्डै एक बर्षदेखी गृहकार्य गरिरहेको बताए । उनले भने -‘अलविदापछि मैले पुरै समय चलचित्र ‘रोमियो’ लाई नै दिएको छु । त्यसैले म विश्वस्त छु कि चलचित्र राम्रो बन्छ ।’
निर्माणपक्षले चलचित्रमा समावेश ‘ल्याङ-ल्याङ’ बोलको गीतको अडियो सार्वजनिक गरिएको छ । सुरेश न्यौपाने, सुवास सुवेदी र रामकुमार श्रेष्ठ चलचित्रका सह-निर्देशक हुन् । कार्यक्रममा नायिका निशा अधिकारीले चलचितत्र रोमियोको कथावस्तु उत्कृष्ट लागेको कारण काम गर्न लागेको बताइन् । उनले भनिन्, ‘चलचित्रमा मेरो भूमिका च्यालेञ्जिङ छ त्यसैले दर्शकलाई चित्तवुझ्ने काम गर्नेछु ।’
त्यस्तै चलचित्रकी अर्की नायिका मेलिना मानन्धरले आफु केही समयको अन्तरालपछि चलचित्र ‘रोमियो’ मार्फत फर्कन लागेको जानकारी दिँदै उनले यसको कथावस्तु मन परेकाले काम गर्न लागेको बताइन् । चलचिमा रामेश्वर कार्कीको छायांकन, किरण घिमिरे ‘माइकल’को लेखन, सुरेन्द्र पौडेलको सम्पादन, अष्ट महर्जन एक्सन, गम्भिर बिष्ट र विपेन गुरुङको कोरियोग्राफी रहनेछ ।