अक्टुवर २३ तारिखदेखि अक्टुवर २९ तारिखसम्म चाइनामा हुने ‘म्यानहन्ट ईन्टरनेशनल वल्र्ड’ प्रतिस्पर्धामा नायक अनुपविक्रम शाही सहभागी हुने भएका छन् । बिहिबार आयोजक कम्पनी जिइइले राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै अनुपविक्रम ‘म्यानहन्ट ईन्टरनेशनल वल्र्ड’ को प्रतिस्पर्धामा जाने बारे जानकारी गराइएको थियो ।
सन् २०१४ का ‘प्रोस्टाइल म्यानहन्ट ईन्टरनेशनल नेपाल’ का विजेता अनुपविक्रम शाहीले आफु म्यानहन्ट ईन्टरनेशनलमा सहभागी हुनका लागी शनिबार दिउँसो चाइना तर्फ प्रस्थान गर्ने जानकारी दिए । उनले भने -‘म नेपालको नाम राख्ने गरी प्रस्तुती दिनेछु । त्यस प्रतियोगीतामा म होइन नेपाल जाँदैछ ।’ उनले म्यानहन्ट ईन्टरनेशनलमा आफुले नेपाली पोषाकदेखी नेपाललाई चिनाउने विभिन्न पहिरनहरु प्रस्तुत गर्ने पनि बताए । कार्यक्रममा ‘हँसिया’, ‘वीर विक्रम’ का निर्देशक मिलन चाम्सले अनुप विक्रम शाहीले म्यानहन्ट ईन्टरनेशनलको उपाधी जितेर नै फर्किने बताए । उनले आफु र अनुपबिच सम्बन्ध विग्रेको भन्ने विषयमा आइरहेको खबरहरुलाई पनि खण्डन गर्न भ्याएका थिए । उनले भने -‘मैले गाइँगुइँ सुनेको थिए कि मेरो र अनुपको सम्बन्ध विग्रियो, त्यसैले मैले अनुपलाई चलचित्र ‘ह्याप्पी डेज’ मा नलिएको रे ! यो सरासर गलत हो । अनुप म्यानहन्ट ईन्टरनेशनलको तयारीमा रहेको र म्यानहन्ट ईन्टरनेशनलमा सहभागी हुन चिन जानु पर्ने भएका कारण अनुपले नै ‘ह्याप्पी डेज’ नखेल्ने भएको हो ।’
अनुपविक्रम शाहीले २०१४ मा ग्रुप अफ इभेन्ट इन्टरटेनर्सले आयोजना गरेको म्यान हन्ट इन्टरनेशल नेपालको उपाधी चुमेका थिए । उपाधीसँगै अनुपले १ लाख नगद पुरस्कार, एक थान होण्डा मोटरसाइकल जितेका थिए ।