कार्तिक १२ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘राधा’ को प्रचार प्रसारमा व्यस्त अभिनेता जीवन लुईटेलले आफु स्कुले जीवनमा कहिले पनि दोस्रो नभएको बताएका छन् । उनी सधैँ पहिलो स्थानमा नै आउँथे ।
‘म विद्यालयका जेहेन्दार र इमान्दार विद्यार्थी थिएँ । मैले स्कुले जीवनमा रिजल्ट आउँदा सधै पुरस्कार लिएर मात्रै घर जाने गर्थे,’ जीवनले भने -‘अध्ययनमा अब्बल भएकै कारण म हाल अभिनयका साथसाथै आफ्नो साहित्यिक यात्रालाई पनि अघि बढाइरहेको छु । सुटिङ्ग बाहेकको समयमा म अनुसन्धान गर्न र पढ्न मन पराउँछन् ।’
साहित्यमा उनले ‘नायक’ किताब पनि सार्वजनिक गरिसकेका छन् । नायक जीवन सन् २००० मा मिस्टर नेपालको ताज जितेसँगै नेपाली सिने क्षेत्रमा आबद्ध भएका हुन् । उनले नेपाली फिल्म ‘तिर्खा’ बाट नेपाली सिनेमामा डेब्यु गरेका हुन् । उनले आफ्नो दोस्रो फिल्म ‘सानो संसार’ मा निभाएको भूमिकाले धेरैको मन जित्यो । त्यसपछि भने जीवनले पछाडि फर्केर हेर्नु परेन । तर केही बर्षयता उनका धेरै जसो चलचित्रहरु असफल हुँदै गएका छन् । कथावस्तु र राम्रो व्यानर भन्दा पनि उनी केही बर्षयता पैसाको पछाडी दौडिनाले खासै सफलताको स्वाद चाख्न पाएका छैनन् । काफल पाक्यो, रिफ्यूजी, सुब्बा साब लगायतका चलचित्रहरु उनका केही बर्षयताका असफल चलचित्र हुन् । चलचित्र असफल भएपनि उनको व्यस्तता भने घटेको छैन । सपरिवारसहित अमेरिकामा रहँदै आएका जीवन अहिले भने नेपालमा नै छन् । अहिले जीवनलाई चलचित्र ‘राधा’ बाट भने ठूलो आश छ । यो चलचित्रमा जीवन लुइँटेल र संचिता लुईटेल मुख्य भूमिकामा छन् ।