यही बर्षको फागुन १३ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको प्रतिक्षित चलचित्र ‘लुट २’ को पहिलो गीत रिलिज भएको छ । ‘ठमेल बजार’ बोलको आइटम गीतमा एलिसा राईले नृत्य प्रस्तुत गरेकी छिन् । सार्वजनिक ‘ठमेल बजार’ बोलको गीतले २०१२ मा प्रदर्शनमा आएको ‘लुट’ मा समाबेश ‘उध्रेको चोली’ को झल्को दिन्छ । ‘उध्रेको चोली’ बोलको गीतमा नायिका शुष्मा कार्कीले नृत्य गरेकी थिइन् । कालीप्रसाद बाँस्कोटाको संगीत रहेको ‘ठमेल बजार’ बोलको गीतमा काली प्रसाद बाँस्कोटा, मिना निरौला, भानुभक्त ढकालको स्वर रहेको छ । गीतको शब्द भने एकतारे र कालीप्रसाद बाँस्कोटाले सयूक्त रुपमा लेखेका हुन् । गीतमा कोरिायोग्राफी विक्रम सुवारको रहेको छ । ‘ठमेल बजार’ बोलको गीतले नेपाली बजारमा राम्रै हंगामा गर्ने निर्माणपक्षको दाबी छ । ‘लुट-२’मा अभिनेता सौगात मल्ल, दयाहाङ राई, कर्मा, ऋचा शर्मा, सिर्जना सुब्बा, विपिन कार्की, प्रवीण खतिवडा, प्रतीकराज न्यौपाने र सुशीलराज पाण्डेलगायतले अभिनय गरेका छन्। माधव वाग्ले र नरेन्द्र महर्जन निर्माताको रुपमा देखिएका छन्। सिनेमेट्रोग्राफर पुरुषोत्तम प्रधानले फिल्म खिचेका छन् भने सुरेन्द्र पौडेलको सम्पादक रहेको छ । ब्ल्याक हर्स पिक्चर्स र प्रिन्सेज मुभिजको ब्यानरमा यो चलचित्र तयार भएको हो । चलचित्रलाई यूवा निर्देशक निश्चल बस्नेतले निर्देशन गरेका हुन् ।