अमेरिकाको टेक्सासकी एक बालिका दुईपटक ‘जन्मिएकी’ छन् । मार्गरेट हकिन्स बोमरकी छोरी लिनली होप दुईपटक जन्मिएकी हुन् । आमाको गर्भमा १६ हप्ताको भएका बेला लिनलीको मेरुदण्डमा ट्युमर देखिएको थियो । यसले गर्दा उनको मुटुमा समस्या पर्ने देखिएको थियो । चिकित्सकले लिनलीको मेरुदण्डमा रहेको ट्युमर शल्यक्रियाबाट हटाउने निर्णय गरे । त्यसका लागि उनलाई आमा मार्गरेटको पाठेघरबाट २० मिनेटका लागि बाहिर निकालियो । ट्युमर फालिसकेपछि लिनलीलाई फेरी आमाको पाठेघरमा राखिएको थियो । ट्युमर हटाउनका लागि आमाको पाठेघरबाट निकाल्दा लिनलीको तौल ० दशमलव ५३ किलो थियो । टेक्सास फेटल सेन्टरका डाक्टरले जोखिमपूर्ण शल्यक्रिया गरेर लिनलीको जीवन जोगाएका हुन् । शल्यक्रियाका बेला लिनली र उनको मेरुदण्डमा रहेको ट्युमरको आकार लगभग उस्तै थियो । डाक्टरले उनको जीवित रहने सम्भावना ५० प्रतिशत मात्रै रहेको बताएका थिए । १६ औं हप्तामा ट्युमर रहेको पत्ता लागेको थियो । तर शल्यक्रिया भने २३ औं हप्तामा भएको हो । ट्युमरले लिनलीको मुटुमा असर गर्ने देखिएपछि आफूले जोखिपूर्ण शल्यक्रिया गरेर लिनलीको जीवन जोगाउने निर्णय गरेको आमा मार्गरेटले बताउनुभयो । शल्यक्रियाको क्रममा लिनलीको मुटुलाई वस्तुतः रोकिएको तर मुटु विशेषज्ञले उनलाई जीवित नै राखेको शल्यक्रियामा संलग्न डा। डार्रेल कासले बताउनुभयो । २० मिनेटको शल्यक्रियाको क्रममा लिनलीको अधिकांश ट्युमर हटाएर उनलाई आमाको पाठेघरमा राखिएको थियो । त्यसपछि १२ हप्तासम्म लिनलीलाई गर्भमा लिएर आमा मार्गरेट पूर्णतः बेडरेस्टमा बस्नुभयो । लिनली गएको जुन ६ मा दोस्रो पटक जन्मिइन् ।
लिनली ८ दिनको हुँदा उनको मेरुदण्डमा रहेको बाँकी ट्युमर शल्यक्रियाबाट हटाइयो । लिनली अहिले घरमा रहेको र उनी पूर्ण स्वस्थ रहेको डा। कासले बताउनुभयो । यस किसिमको ट्युमर ३० हजारदेखि ७० हजार जीवित जन्ममा एक शिशुमा देखिन्छ । यसमा अधिकांश शिशु बालिका बढी छन् । -उज्यालो