बलिउड नायिका प्रियंका चोपडा यति बेला हलिउडमा समेत सफल बनिरहेकी छिन् । ‘बाजिराव मस्तानी’ को सफलतापछि अमेरिकी टिभी शो ‘क्वान्टिको’ मा आबद्ध भइन् भने अहिले उनको हलिउड चलचित्र ‘बेवाच’ चर्चामा छ । हालै दिइएको अन्तरवार्तामा प्रियंकाले केही समयअघि उनीसँग भएको रोचक घटनाबारे खुलासा गरेकी छिन् । एक निर्माता कम्पनीले उनीसामु कामको दौरान गर्भवती हुन नपाउने शर्त राखेको प्रियंकाले बताइन् । त्यस्तो करार पढेर आफू स्तब्ध बनेको तर पछि निर्माताहरुलाई जवाफ फर्काएको बताइन् ।
प्रियंकाले भनिन्, ‘केही वर्षअघि म एउटा ठूलो कम्पनीको लागि काम गर्न लागेको थिएँ । जब म उनीहरुसँग करार अनुबन्ध गर्न लागेको थिएँ । करारको एक बुँदामा म गर्भवती हुन नपाउने उल्लेख थियो । यो पढेर म निकै रिसाएँ । कोहीले कसैलाई कसरी भन्न सक्छ गर्भवती नहुनु ? बिरामी वा तौल बढाउने पनि होइन, सिधै गर्भवती ?’
उनले थपिन् , ‘उनीहरुको तर्क थियो कि यसले काममा असर गर्छ । तर, म भने गर्भवती भए पनि काम गर्न तयार थिएँ । यो बुँदको विषयमा निकै ठूलो विवाद भयो । पछि मैले भने ठीक छ यदी म गर्भवती भएर काम गर्न सकिन भने करार भंग हुनेछ नत्र म गर्भवती हुँदा हुँदै पनि काम गरे पनि करार रद्द गर्ने हक ममा हुनेछ ।’