संगीत भनेको मनलाई छुने हुनु पर्छ । जुन संगीतले सबैको मन छुन्छ त्यो नै उत्कृष्ट गीत बन्छ । पछिल्लो समय नेपाली साँगीतिक क्षेत्रमा उत्ताउँला गीतहरु बनिरहेका छन् भन्ने आरोप लाग्दै आइरहेको छ । यही आरोपका बिच अहिले युट्युबमा भिओर्स पाउनका लागि गीतको भिडियोमा उत्तेजक दृश्य समाबेश गर्ने परम्परा नै बसिसकेको छ । गीत उत्कृष्ट नभएपनि दर्शकहरु उत्तेजक दृश्य हेर्नका लागि भएपनि भिडियो हेर्ने गरेको हामी सबैलाई थाहा छ । कहिले गीत उत्कृष्ट बन्छ तर निर्माणपक्षले भिडियोमा उत्तेजक दृश्य राखेर गीतलाई नै कमजोर बनाइदिन्छन् भने कतै गीत उत्कृष्ट नभएपनि भिडियो उत्कृष्ट बनेको देख्न सकिन्छ । तर कमै मात्र भिडियोहरु गीत जस्तो सुन्दर बनेको देख्न पाइन्छ ।
त्यस्तै अहिले युट्युबमा निकै रुचाइएको गीत हो ‘पानी पर्यो असिना झर्यो’ । हो यो गीतले अहिले युट्युबमा हंगामा नै गरेको छ भन्दा फरक पर्दैन । विशेषत यूवापुस्ताका दर्शकहरुले अहिले यो गीतको भिडियोलाई निकै रुचाएका छन् । शब्द र संगीतमा निकै ध्यान दिइएको उक्त गीतलाई अल्मोडा राना उप्रेतीको आवाजले निकै सुन्दर बनाएको छ । भिडियोमा आफै देखिएका अल्मोडा राना उप्रेतीको अभिनयलाई पनि दर्शकहरुले कुनै खोट लगाउन सक्ने ठाउँ छैन । युट्युबमा जसरी अहिले यो गीत हिट भइरहेको छ त्यसरी नै पार्टी, पसल हुँदै सार्वजनिक सवारी साधनमा यही गीत गुन्जिरहँदा गीतको लोकप्रियताबारे प्रस्ट हुन्छ।
त्यति मात्र होइन यो गीत जब युटयुबमा भाइरल हुँदै गयो त्यसपछि यो गीतमा नेपाल देखी विदेशमा रहेका नेपालीहरुले विभिन्न भिडियो बनाएर युटयुबमा अपलोड गरिरहेका छन् । जुन भिडियोमा उनीहरुले आफ्नो नृत्य प्रस्तुत गरेका छन् । फरक शैलीले तयार पारिएको भिडियोको छायाँकन लगभग लगभग एकै ठाउाँमा भएको छ । काठमाडौंको फनपार्कमा छायाँकन गरिएको ‘पानी पर्यो असिना झर्यो’ बोलको गीतमा कमेडी स्वाद मिसाइएको छ, जहाँ दर्शकहरुले राम्रै रमाइलो गर्छन । भिडियोमा निर्देशक सागर राजको मेहेनत पनि स्पष्ट देखिएको छ । यो गीतको शब्द विधान राज भण्डारी र अल्मोडा राना उप्रेतीले लेखेका हुन् । यो गीतको भिडियो हालसम्म झण्डै २० लाखले हेरेका छन् । एक म्यूजिक भिडियोले यति धेरै भिओर्स पाउनु निकै राम्रो मानिन्छ ।