नेपालमा रंगीन दुनियाँको चमकदमक त्यागेर डलर कमाउन अमेरिका भासिएका कलाकारहरूको जीवनयापन त्यति सहज छैन । आम नागरिक सरह शारीरिक परिश्रममा जोतिनुपर्दा पूर्वसेलिब्रिटीहरु विगतमा कलाकारिता गर्दाका क्षण ‘मिस’ गरिरहेका छन् ।
अमेरिकामा रहेका अधिकांश नेपाली कलाकारले रेस्टुरेन्टमा काम गरिरहेको पाइएको छ। उनीहरूमध्ये एकाध कलाकारले मात्र व्यवस्थापकीय जिम्मेवारी पाएका छन् भने अधिकांश सामान्य मजदुरीमै सीमित छन् ।
केही कलाकारले भने आफ्नै व्यवसाय पनि चलाइरहेका छन् ।
अमेरिकामा नै आफ्नो जवानी विताएर नेपाल फर्किएका नायक सरोज खनाल अमेरिकामा रेस्टुरेन्टमा काम गर्थे । झन्डै १५ वर्षसम्म अमेरिकामा रहेका खनालले विम्पिज नामको फास्टफुड रेस्टुरेन्टका म्यानेजर भएका थिए । सरोजले सुरुका दिनहरूमा भने रेस्टुरेन्टमा वेटरको काम गरेका थिए ।
पाँच वर्षसम्म अमेरिका बसेर नेपाल फर्किएकी चर्चित नायिका करिश्मा मानन्धरले पनि बाल्टिमोरको एउटा सबवे फास्टफुड रेस्टुरेन्टमा काम गरेकी थिइन् । १४ वर्षको उमेरदेखि अभिनय यात्रा सुरु गरेकी करिश्मालाई फास्टफुड रेस्टुरेन्टमा स्यान्डविच बनाउँदा रमाइलो लाग्ने कुरै भएन । त्यसैले उनले पुनः नेपाल फर्केर अभिनय यात्रालाई निरन्तरता दिन थालेकी छिन् । लगातार रेस्टुरेन्टमा काम गरेकी करिश्मा ग्रिनकार्ड हात पारेपछि नेपाल फर्किएकी हुन् ।
घरसंसार, पराइघर, आफ्नोपनलगायतका चलचित्रमा अभिनय गरेका नेपाली चलचित्रका अर्का नायक रमेश उप्रेती बाल्टिमोरको एउटा मदिरा पसलमा काम गर्ने गर्थै. । अहिले उनी नेपालमा नै बस्छन् । लिक्वेर स्टोरमा खजान्चीको काम गर्ने रमेश अमेरिकाको ग्रिनकार्ड होल्डर हुन् ।
पानको पात, सिमसिमे पानीमाजस्ता चर्चित गीतका गायक प्रेमराजा महतले अमेरिका छिरेपछि रेस्टुरेन्टमा वेटरको काम गरे पनि अहिले भने उनको आफ्नै रक्सी पसल र रेस्टुरेन्ट छ । अमेरिकाको बाल्टिमोरमा परिवारसहित बसोबास गरिरहेका महतले आफ्नो रेस्टुरेन्टमा कैयन नेपालीलाई जागिरसमेत लगाइदिएका छन् ।
झन्डै तीन वर्षअगाडि अमेरिका छिरेर अमेरिकाको साल्ट लेकसिटीमा बस्दै आएकी नेपाली चलचित्रकी एक जमानाकी हिट नायिका जल शाह भने अपवादमा पर्छिन् । उनी अमेरिकामा अहिले कुनै काम गरिरहेकी छैनन् । श्रीमान् सरद रिमालको आम्दानीमा उनको घरखर्च चलिरहेको छ भने छोरीको हेरचाह गरेर गृहिणीका रूपमा जलको समय बित्ने गरेको छ ।
चर्चित लोकगायक भगवान भण्डारी पनि अहिले अमेरिकाको सिकागोमा एउटा रेस्टुरेन्टमा काम गरिरहेका छन् । टेस्टअप हिमालय नामको रेस्टुरेन्टमा काम गर्ने भण्डारी मल्टिपल भिसामा अमेरिका छिरेका थिए । उनी अहिले ग्रिनकार्डको चक्करमा छन् ।
लाउँथेँ माया घातैघात भो, जोर शंख फुकेर, एउटै डोरी पासो लगाम भो जस्ता लोकगीतका गायक मीन दर्लामी डिभी परेपछि अमेरिका छिरेका हुन् । पत्नी सरस्वती मुखियासँगै अमेरिका छिरेका दर्लामी अहिले सिकागोको एउटा रेस्टुरेन्टमा काम गर्छन् ।
पूजा चन्द कुनैवेलाकी चर्चित नायिका हुन्, नेपालमा । तर, त्यो इतिहास बनिसकेको छ । बरपीपल र पन्छीलगायतका दर्जनौँ चलचित्रमा अभिनय गरेकी पूजा पाँच वर्षअगाडि पन्छीजस्तै उडेर अमेरिका छिरिन् । उनी अहिले अमेरिकामा नक्कली कपाल बेच्ने विक स्टोरमा काम गरिरहेकी छिन् । छोरीसँगै बसिरहेकी पूजालाई नेपालको भन्दा यतैको जिन्दगी रमाइलो लागिरहेको छ ।
नेपालमा केही चलचित्रमा अभिनय गरेकी नायिका अनुपमा प्रसाईं पनि ६ वर्षदेखि अमेरिकामा बस्दै आएकी छिन् । उनले भर्जिनियामा बालबच्चा रेखदेख गर्ने काम गरिरहेकी छिन् । नृत्य कलाकारसमेत भएका कारण उनी बालबच्चालाई समेत नृत्य सिकाउने गर्छिन् ।
जीवनरेखा, सडकलगायतका चलचित्रमा अभिनय गरेका कलाकार अनिल पाण्डे अमेरिकाको क्यालिफोर्नियामा एउटा रेस्टुरेन्टमा काम गर्दै आएका छन् । सिजलर नामको अमेरिकी रेस्टुरेन्टमा काम गर्ने पाण्डे क्यालिफोर्नियामा सपरिवार बसोबास गर्दै आइरहेका छन् । अमेरिकन नागरिकतासमेत लिइसकेपछि पनि पाण्डे लामो समय नेपाल बसेर फर्किएका थिए ।
चर्चित नायक सुधांशु जोशी सफ्टवेयर डेभलपरको आइटीसम्बन्धी काम गर्छन् । झन्डै एक दशकदेखि अमेरिकामा बसोबास गरिरहेका जोशी अहिले भर्जिनियामा काम गर्छन्। उनी आफ्नो काम र अमेरिकी जीवनबाट सन्तुष्ट नै छन् ।