दयाहाङ राई र प्रियंका कार्कीको मुख्य भुमिका रहेको चलचित्र ‘पुरानो डुङ्गा’ यूनिट प्रमोशनका लागी देश दौडाहामा निस्कने भएको छ । सोमबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै निर्माण पक्षले पूर्व झापादेखि पोखरासम्म दर्शकको सुझाव र प्रतिक्रिया बुझ्न निस्कन लागेको बताएको छ । ‘नीर जैले रिसाउने’ गीतका कारण चर्चामा रहेको चलचित्र ‘पुरानो डुङ्गा’ को ‘माझी’ बोलको गीत पनि सार्वजनिक गरिएको छ । डुङ्गा चलाएर जीविकोपार्जन गर्ने माझी भक्ते र उसको आवरा भाइ बतासेको अंशका कारण झगडा पर्छ। त्यसपछि बतासेले डुङ्गा खोसेर लग्छन् र माझी भक्तेको परिवारमा सिर्जना हुने आर्थिक संकट चलचित्रको मुख्य कथा हो। मंसीर १० गतेबाट रिलिज हुने यो चलचित्रमा माओत्से गुरुङ, दयाहाङ राई, मेनुका प्रधान, प्रियङ्का कार्की, बुद्धि तामाङ, पुस्कर गुरुङ, धनबहादुर गुरुङ, सजन थापा, नौजन गुरुङ आदिको अभिनय रहेको छ । सिनेमा आर्टस् र माओत्से गुरुङ फिल्मको ब्यानरमा बनेको चलचित्रलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन्।