नेपाली कांग्रेसको भातृ संगठन, नेपाल सास्कृतिक संघको शुभेक्छुक सस्था नेपाल लोकतान्त्रिक चलचित्रकर्मी संघको स्थापना सभाबाट सन्दिप सापकोटाको नेतृत्वमा १७ सदस्य समिति निर्माण भएको छ । वुधबार राजधानीमा आयोजित नेपाल लोकतान्त्रिक चलचित्रकर्मी संघको स्थापना सभाका प्रमुख अतिथी नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा वन मन्त्री शंकर भण्डारीले नेपाली कलाकारहरुका लागी सरकारबाट महत्वपूर्ण काम अहिलेसम्म हुन नसकेको बताए ।
उनले भने –“सरकारले कलाकारहरुका लागी जसरी बजेट देखी अन्य कुरामा साथ सहयोग गर्नु पर्ने थियो त्यो अहिलेसम्म हुन सकेको छैन । अहिले देश राजनीतिक संक्रमणकालमा छ, राजनीतिक रुपमा अस्थीरता छ । नेपालमा संविधान कार्यन्वयन हुँदै गएर देश समृद्ध हुँदै गएपछि कलाकारिता क्षेत्र, सास्कृतिक क्षेत्रमा महत्वपूर्ण कामहरु हुनेछ ।” उनले कलाकारहरुलाई आफुले सकेको सबै सहयोग गर्ने र गर्दै जाने पनि बताए ।
त्यस्तै कार्यक्रममा बोल्दै नेपाल सास्कृतिक संघका सभापति तिर्थ थापाले सधै सरकार र पार्टीले कलाकारहरुलाई बेवास्ता गर्दै आइरहेको आरोप लगाए । उनले भने –“हामीहरु परिवारबाट नै उपेक्क्षित छौ । अझ पार्टी र देशले मान्ने कुरा त टाढाको भयो । राज्यका विभिन्न अंगमा कलाकारहरुको प्रतिनिधित्व यथोचित अहिलेसम्म हुन पाएको छैन ।”
उनले नेपाली कलाकारहरुको महत्वपूर्ण योगदानले पनि देशमा ठूला ठूला परिवर्तन भएको पनि स्मरण गरे । सोही कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईले नेपाली कलाकारहरुलाई सरकार र पार्टीले सधै प्राथमिकतामा राखेर काम गर्न आग्रह गरे । उनले कलाकारलाई राष्ट्रको गहना भनेर सम्बोधन गरेपनि कलाकारहरुको हक र अधिकारको पक्षमा अहिले सम्म कुनै पनि काम हुन नसकेको पनि बताए ।
स्थापना सभाबाट संघको सदस्यमा रुपा राना, जनकदीप पराजुली, प्रदीप दाहाल, सुस्मिता कार्की, अनन्त तिमल्सिना, सुव्रत आचार्य, अनमोल शर्मा, ऋषी लामिछाने, योगेन्द्र श्रेष्ठ, आयूष रिजाल, गोविन्द शाही, बैकुण्ठ पराजुली, सिपी पौडेल, योगेश घिमिरे, बसन्त पोख्रेल, स्वस्तिका सिलवाल, गीता अधिकारी चयन भएका छन् । कार्यक्रममा नेपाल लोकतान्त्रिक चलचित्रकर्मी संघका सभापति सन्दिप सापकोटाले संघ कलाकारहरुको हकहितका लाग सधै लागी पर्ने बताए । उनले भने –“नेपाली चलचित्र क्षेत्रले ६५ बर्ष पुरा गरेपनि अहिलेसम्म कलाकारहरुको अबस्था जस्ताको त्यस्तै रहेको छ । चलचित्रकर्मीलाई राज्यले हेर्ने दृष्ट्रीकोणमा अहिलेसम्म पनि पूर्ण रुपमा सकारात्मक संकेत देखिएको छैन । चलचित्रकर्मीलाई राजनीतिक पार्टीले भनौ वा राज्यले जहिले पनि परिआएको बेला शुभ कार्यमा बाजा बोकी अघि लगाउने एउटा झुण्डको रुपमा मात्र हेर्ने गरेको छ । यस किसिमको दृष्ट्रीकोणमा परिवर्तन हुन एकदमै आबश्यक छ ।”
उनले चलचित्रकर्मीहरुको हकहितका लागी आवाज उठाउने, एडभोकेसी गर्ने र समाजमा सास्कृतिक जागरण गर्दै उर्जासिल भुमिका खेल्ने कार्यमा नेपाल लोकतान्त्रिक चलचित्रकर्मी संघले महत्वपूर्ण भुमिका खेल्ने पनि बताए ।