आजबाट दुई नेपाली चलचित्र एकसाथ प्रदर्शनमा उत्रिएका छन् । ति चलचित्र हुन् ‘जात्रा’ र ‘जंग बहादुरको कोट’ । प्रदीप भट्टराईको लेखन र निर्देशनमा तयार भएको चलचित्र ‘जात्रा’ मा बर्षा राउत, प्रेक्षा बज्राचार्य, विपिन कार्की, रविन्द्र सिंह बानियँया, रविन्द्र झा, प्रकाश घिमिरे, प्रविन खतिवडा, कमलमणी नेपाल, प्रियंका झा, भोला राज सापकोटा, निलकाजी शाक्य, साजन थापा मगर, सुरेश कार्की, सफर पोखरेल लगायतका कलाकारहरुको अभिनय रहेको छ। चलचित्रका कलाकार समेत रहेका रविन्द्र सिंह बानियाँ ‘जात्रा’ को कार्यकारी निर्माता हुन् भने सिंगे लामा र यादव पौडेल निर्माता हुन्। वुधबार राजधानीमा निर्माण पक्षले गरेको प्रिमियरमा चलचित्रकर्मीहरुले ‘जात्रा’ लाई निकै रुचाएका थिए । पैसाको पछाडी दौडिने तीन यूवाहरुको कथामा आधारित चलचित्र ‘जात्रा’ ले मल्टिप्लेक्समा उच्च शोज पाएको छ भने सिंगलहरुमा पनि ‘जात्रा’ को हल संख्या उच्च रहेको छ ।
त्यस्तै अर्को चलचित्र ‘जंग बहादुरको कोट’मा विमलेश अधिकारी, सुचित्रा आचार्य, अनुप बराल, विश्व बस्नेत, सुवांगी कोइराला, मोहन निरौला लगायतका कलाकारहरुको मुख्य भुमिका रहेको छ । चलचित्रको निर्माण जयन खड्काले गरेका हुन् । चलचित्रले जंगबहादुरको बिषयलाई उठान गरेको छ । एकसाथ प्रदर्शनमा आएका यि दुई नेपाली चलचित्र मध्ये कसले बाजी मार्ने हुन् त्यो भने आजबाट नै थाहा हुनेछ । यो चलचित्रसँगै नेपालका मल्टिप्लेक्स हलहरुमा बलीउड चलचित्र ‘रक अन २’ पनि प्रदर्शनमा आएको छ ।