भारतले नेपालमा रहेका ५ सय र १ हजार दरका भारु नोट साट्न आनाकानी गरिरहेका बेला राष्ट्र बैंकका पूर्वगर्भनर युवराज खतिवडाले भने भारतले त्यसरी साटदिनँ भन्नै नपाउने बताएका छन् ।
पूर्वगर्भनर युवराज खतिवडा
भारतले सरकारले अघिल्लो सातादेखि ५ सय र एक हजारका भारु नोट नचल्ने घोषणा गरेपछि नेपालमा त्यसको असर परेको छ । नेपाल सरकारले यसबारे कूटनीतिक पहल गरिरहेको भए पनि भारतले एक हप्तासम्म ठोस जवाफ नदिएर आनाकानी गरिरहेको छ ।
यसैवीच भारतीय दूताबाससमेत नेपालीसँग रहेका भारु नोट सटहीबारे सकारात्मक छैन । र, यहीबेला भारतीय सञ्चारमाध्यमा नेपालीसँग रहेको भारु नसाटिने समाचार धमाधम आइरहेका छन् । जसले गर्दा सीमावर्ती क्षेत्रदेखि भारतमा गएर काम गर्ने, पूर्वभारतीय गोर्खासैनिकहरु समेत प्रभावित बनेका छन् ।
अर्को देशलाई टाट पल्टाउन पाइँदैनः पूर्वगभर्नर
यसै विषयमा अनलाइनखबरसँग कुरा गर्दै पूर्वगभर्नर खतिवडाले निश्चित विधि बनाएर भारत सरकारले सटहीको सुविधा दिनैपर्ने बताए ।’ł५ सय र १ हजारको नोट भारतले स्वीकृति दिएर नै नेपालमा चलाउन थालिएको हो । अहिले भारतले सीमित मात्राका लागि मात्रै सटही सुविधा दिएको छ, खतिवडाले भने– ‘तर भारु नोट साट्दैनौं भन्न भारतले मिल्दैन ।’ डा. खतिवडाले अगाडि भने, कुनै पनि देशको स्वतन्त्र मुद्रा अर्को मुलुकले क्षतिपूर्ति नदिई ‘डिमोनिटाइज’ गर्न सक्दैन । त्यसो गर्ने हो भने डलर एक दिन ‘डिमोनिटाइज’ गरियो भने विश्व नै टाट पल्टिन्छ । र, यस्तो कुरा कल्पना गर्न सकिँदैन ।’
भारु ५ सय र १ हजार क्षेत्रीय मुद्रा भएको भन्दै डा. खतिवडाले नेपालमा मात्र होइन, भुटान, सिंगापुर, दुबई लगायतका मुलुकमा पनि भारु चल्ने बताए । ‘एउटा स्वतन्त्र मुुलुक टाट नपल्टिँदासम्म आफ्नो मुद्रालाई खोस्टो बनाउन पाइँदैन । खतिवडाले भने– ‘भारत सरकारले जिम्मेवारीपूर्वक यसलाई सल्टाउनुपर्छ ।’
दूताबासको गैरजिम्मेवारी
काठमाडौस्थित भारतीय दूतावासले राष्ट्र बैंकका अधिकारीहरुसँगको छलफलमा बैंकिङ च्यानलमा भएको रकम मात्रै सटही गर्न सक्ने आशय देखाएको छ । तर, नेपालमा बैंकिङ च्यानलमा २/३ करोड मात्रै भारु छ । जनस्तरमा भने अर्बको हाराहारीमा भारु छ ।
नेपालमा कार्यरत भारतीय व्यापारीहरु, सीमावर्तीका नेपाली व्यापारी, भारतबाट पेन्सन बुझ्ने भूपू सैनिकलगायत नेपाली समुदायसँग गैर बैंकिङ कारोबार अन्तरगत भारु नोटहरु रहेकाले भारतले ती नोट नसाट्ने बताउँदा सर्वसाधारणमाथि मर्का परेको छ ।
अर्काको देशको मुद्रा प्रयोग गर्दा समस्या
भारतले आफ्नो नोट नसाट्ने धम्की दिइरहँदा नेपालमा चाँहि अब भारु नोटको कारोबार गर्ने कि नगर्ने भन्नेमा बहस सुरु भएको छ ।
पूर्वगभर्नर खतिवडा भन्छन्– ‘हुन त हामीले भारु कारोबारका लागि होइन, सटहीका लागि मात्रै चलाउने भनेको हो । तर, व्यवहारमा सीमावर्ती क्षेत्रका मानिसहरुले भारतीय रुपैयाँमै कारोबार गरिरहेका छन् । त्यसैले उपयुक्त स्रोत देखाएर बैंकिङ च्यानलमा ल्याइन्छ भने त्यसलाई साटिदिनका लागि नेपाल र भारत दुबै देशका बैंकहरु तयार हुनुपर्छ ।’-अनलाइनखबर