प्राय दैनिक जसो नै सुन्ने गरिन्छ कि नयाँ चलचित्रका लागी नायिका चाहियो वा भने जस्तो नायिका भेटिएन । यस्ता खबरहरुले बेला बखतमा नेपाली मिडियाहरु पनि खुबै तात्ने गर्छन । केही महिना अगाडी विकासराज आचार्यले निर्माण गर्न लागेको चलचित्र ‘समर लभ’ लाई पनि भने जस्तो नायिका नभेट्दा छायाँकन नै सुरु भएन । विशेष गरी ठूला ब्यानरमा निर्माण हुने चलचित्रका लागी नायिका नभेटिएका खबरहरु बढी जसो बाहिर आउने गर्छन । ‘के नेपालमा भने जस्ता नायिकाहरु नभएकै हुन् ?’ यो प्रश्नहरु अहिले प्रत्येक नयाँ चलचित्र निर्माण गर्ने निर्माताको मुखबाट सुनिन्छ ।
पुराना नायिकाहरुलाई लिएर जोखिम उठाउनु भन्दा अहिले निर्माताहरु आफ्नो चलचित्रका लागी नयाँ अनुहारहरु नै खोजी रहेका हुन्छन् । जसले गर्दा चलचित्रको कथावस्तु अनुसार नयाँ अनुहार खोज्न निर्माताहरुलाई हम्मेहम्मे पर्छ ।
यस्तै एक चलचित्रका लागी पनि नायिका नभेटिँदा छायाँकन नै सुरु हुन नपाएको खबर बाहिर आएको छ । ओम प्रतीकको लेखन तथा निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘बटरफ्लाई’ (कलर्स अफ लभ) लाई नायिका नभेटिँदा छायाँकन सुरु हुन नसकेको हो । केही महिनादेखी नायिकाको खोजी भएपनि अहिलेसम्म निर्माणपक्षले चलचित्रको कथावस्तु अनुसार नायिका भेट्न सकेको छैन, जसले गर्दा चलचित्रको छायाँकन समेत सुरु हुन नपाएको निर्र्देशक प्रतीकले जानकारी दिए । मंसिरको पहिलो हप्ता फ्लोरमा जाने भने पनि भनेजस्तो हिरोइन नभेट्दा अब चलचित्रको छायाँकन मंसिरको अन्तिम साताबाट सुरु हुने बताइएको छ । चलचित्र ‘के म तिम्रो होइन र’मा आफ्नो सिक्स प्याककै कारण चर्चामा आएका आर्यन अधिकारी र अर्पण थापाको मूख्य भूमिका रहने यस चलचित्रमा हिरोइनको च्यालेन्जिङ रोल भएका कारण भनेजस्तो अहिलेसम्म नभेटेको निर्देशक गुरुङले बताए । खबरका अनुसार, नायक अधिकारीलाई ८ केजी तौल घटाउन लगाएको कारण पनि चलचित्र फ्लोरमा जान ढिलाई भएको हो ।
‘बटरफ्लाई’ चलचित्रको शीर्षक अनुसारको जीउडाल र उचाई मिल्ने हिरोइन चाहिएको हो । द फ्रेम क्रियशनको ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘बटरफ्लाई’ का निर्माता सन्तोष अधिकारी हुन् । चलचित्र कार्यकारी निर्माता रमेश प्रजापति हुन् भने कन्ट्री निर्माताका रुपमा ध्रुवराज रहेका छन् । चलचित्रका सह निर्मातामा सरोज शाह र भूपेन्द्र सुवेदी रहेका छन् । चलचित्रको छायाँकन सुरेश बज्राचार्यले गर्दै छन् भने चलचित्रको संगीतमा विकास चौधरी र दीपक शर्माले दिएका छन् ।