कार्तिक २६ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘जात्रा’ हेर्नुभएको छ भने तपाईहरुले पक्कै पनि यस चलचित्रको सिक्वेलको प्रतिक्षा गर्नुहुन्छ किनकी यो चलचित्रको अन्त्यले दर्शकहरुलाई थप उत्सुक बनाएको छ । कथाले लगभग अन्त्य मोड लिई सकेको अवस्थामा फेरी नयाँ कथाको सिर्जना भएकाले दर्शकहरुले यस चलचित्रको सिक्वेल खोज्नु पनि जायज हो ।
चलचित्र हेरेका प्राय सबै दर्शकहरुले सिक्वेलको माग गरेपछि निर्माणपक्षले यस विषयमा आफ्नो मुख खोलेको छ । चलचित्र ‘जात्रा’ का कार्यकारी निर्माता एवंम मूख्य कलाकार रविन्द्र सिंह बानियाँले यस विषयमा बोल्दै भने–“जात्राको सिक्वेल बन्छ र दर्शकहरुले चाँडै हेर्न पाउनुहुनेछ ।” त्यस्तै चलचित्रका निर्देशक प्रदिप भट्टराईले नयाँ तरिकाले चलचित्रको समापन गरेको बताएका छन । उनले भने–“हामीले विल्कुलै नयाँ तरिकाले चलचित्रको समापन गरेका छौं, सधै हिरो विजयी भएको देखाईन्छ, तर हामी दुःखको अवस्थामा पुर्याएका छौं, कथाले नयाँ मोड लिएको छ ।” उनले ‘जात्रा–२’ निर्माण हुने संकेत गर्दै दर्शकहरुको चाहना अनुसार नै अघि बढ्ने बताए । दोस्रो हप्तामा प्रवेश गरिसकेको ‘जात्रा’ करोड क्लबमा पनि प्रवेश गरिसकेको छ । पैसाको विषयलाई मनोरञ्जनात्मक रुपमा प्रस्तुत गरिएको यो चलचित्रमा वपिन कार्की, वर्षा राउत, रविन्द्र सिंह बानीयाँ, रविन्द्र झा, प्रेक्षा बज्राचार्यलगायतको अभिनय रहेको छ ।