चलचित्र ‘झेली’ बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी नायिका हुन्, सुरविना कार्की । सुरुवाती दिनमा फोटोसुट र चलचित्रमा हट दृश्य दिएकै कारण यी नायिकाले चर्चा पाइन् । ‘झेली’ पछि सुरविनाले नाईके, लुकामारी, सुश्रीमा काम गरिसकेकी छिन् । अब उनको चाँडै ‘चर्खा’ नामक चलचित्र प्रदर्शनमा आउँदैछ । तर, सुरविनाले अभिनयका गरेका सबै चलचित्रहरु नेपाली बक्सअफिसमा असफल छन् । अब उनी आफ्नो करियर अगाडी बढाउन ‘चर्खा’ ले ठूलो मद्दत गर्नेमा पूर्ण विश्वस्त रहेकी छिन् । ‘सिनेखबर डटकम’ सँगको एक भेटमा उनले आफ्नो सुरुवाती चलचित्र ‘झेली’ ले करियरलाई नै झेली बनाइदिएको बताइन् । उनले भनिन्, ‘कत्ति कुराहरु आफुले गरेर मात्र पनि नुहँदो रहेछ । त्यसका लागी सबै कुरा मिल्न आबश्यक हुन्छ । जति बेला मेरो पहिलो चलचित्र झेली प्रदर्शनमा आएको थियो त्यति बेला दर्शकहरुको टेस्ट पनि चेन्ज भइसकेको थियो । मेकिङ, स्टोरी पनि पुरानो भइसकेको थियो किनभने एकबर्ष अगाडी सुट भएर १ बर्ष पछाडी चलचित्र रिलिज भएको थियो ।’
उनले अगाडी थपिन्, ‘मैले झेलीपछि निकै राम्रो चान्स पाएको थिए । मैले मेरो ठाउँबाट राम्रो काम पनि गरे । तर फिल्म चलेन यसमा मेरो मात्र दोष हो जस्तो मलाई लाग्दैन ।’ उनले चर्खाको छायाँकन सकाएपछि अरु चलचित्रबाट अफर आएको पनि बताइन् । ‘चर्खा सकाएपछि मलाई धेरै चलचित्रबाट अफर आएका थिए तर मैले काम गर्न मानिन् । राम्रा-राम्रा कथा भएका चलचित्रबाट पनि अफर आएको थियो तर मलाई कुनै चलचित्रमा आफ्नो भुमिका सशक्त लागेन, कुनै चलचित्रमा को-स्टार राम्रो भएन । यस्तै कारणले पनि मैले कुनै चलचित्र साइन गरेकी छैन ।’ उनले भनिन् ।
सुरविनाले अबका दिनहरुमा राम्रो ब्यानर र राम्रो कथा भेटे मात्र चलचित्रमा काम गर्ने बताइन् ।