अभिभावकहरुले आफ्ना बालबच्चाका विभिन्न क्षणका तस्वीरहरु सोसल मिडियामा शेयर गर्ने चलन निकै बढिरहेको छ । अहिलेको बालपुस्ता जस्तो यसअघिको पुस्ता भाग्यमानी थिएन, किनकी उनीहरुको बाल्यजीवन यसरी डिजिटल तथा सार्वजनिक रुपमा अभिलेखीकृत हुन पाएन ।
बाल्यजीवनको सम्झनाका रुपमा केवल केही धुल्याएका फोटाहरु मात्र सीमित रहे ।
नोमिनेट नामक एक कम्पनीको सर्भेक्षण अनुसार बेलायतमा दम्पत्तिहरुले आफ्नो बच्चा जन्मिएर पाँच वर्षको हुन्जेल सम्ममा औषतमा १४ सय ९८ वटा तस्वीरहरु सोसल मिडिया तथा अनलाइनमा अपलोड गरेका हुन्छन् ।
यो कुरा अभिभावकहरुका लागि गर्व गर्ने विश्वव्यापी प्रक्रिया बनेको छ । तर यो विषयमा ती बालबालिकाहरुको बारेमा के सोँचिएको छ ? जसको यस विषयमा कुनै छनोट तथा निर्णय नै गर्नसक्ने उमेर भैसकेको हुँदैन ।
सायद अनलाइनमा बाल्यकालका तस्वीर पोष्ट गर्ने चलनको सुरुवातताका बाल्यावस्थामा रहेका पहिलो ब्याचका मानिसहरुको उमेर अहिले तन्नेरी बनेको छ । र आफ्नो बाल्यकालका सबै दृश्यहरु त्यसरी डिजिटल दुनियामा अनलाइन मार्फत सार्वजनिक गरिएकोमा उनीहरु सबै सधै खुसी छैनन् ।
बेलायतको न्युक्यासलकी १६ वषर्ीया लुसीका अनुसार उनी १२।१३ <mबष्तियस्१२।१श्र वर्षको हुँदा देखि नै फेसबुकमा आफ्ना केही आपत्तिजनक खालका सामाग्रीहरु रहेको कुराको उनले अनुभव गरेकी थिइन् ।
लुसी सात वर्षकी हुँदादेखिनै उनका बुवाले उनका तस्वीरहरु आफ्नो फेसबुक अकाउन्टमा अपलोड गर्ने गरेका थिए ।
लुसी भन्छिन्, ‘मैले ती सबै फोटाहरु फेसबुकबाट हटाउन बुवालाई भनेँ । वहाँ खुसी हुनुभयो तर किन भन्ने कुरा बुझ्नु भएन । यदि मलाई उसैबेला ती फोटोहरु फेसबुकमा हाल्ने की नहाल्ने भनेर सोध्नुभएको भए मैले सायद नाइँ भन्ने थिएँ ।’
बाल्यकालमा आफ्ना फोटा फेसबुकमा देख्दा दंग पर्नेहरु पनि अहिले बुझ्ने भएपछि बेखुस हुन थालेका छन् । पूर्वी लण्डनकी २० वषर्ीया डाना हर्ले ११ वर्षकी छँदा बुवाआमाले अपलोड गरेका आफ्ना फोटाहरु फेसबुकमा देखेर निकै उत्साहित तथा दंग पर्थिन् ।
तर अहिले बुझ्दा भने उनलाई आफ्ना बाल्इकालका ती सबैखाले फोटाहरु सबै मानिसले हेर्न पाउनेगरी फेसबुकमा राख्ने काम अलिक नसुहाउँदो रहेछ भन्ने लागेको छ ।
विश्वभरीनै पारिवारिक जीवन सोसल मिडियामा अभिलेखीकृत भइरहेको छ । डाना तथा लुसी दुबैका आफ्ना फेसबुक अकाउण्ट छन् र फेसबुकमा आफ््ना बाल्यकालका धेरैजसो तस्वीरबाट आफुलाई डिट्याग्ड गरिसकेको छन् । यसको मतलब अब ती तस्वीरहरु उनीहरको प्रोफाइलमा देखिने छैनन् तर सोसल मिडिया साइटमा भने अझै रहेकै छन् ।
मनोविज्ञहरुका अनुसार आफ्ना बालबच्चाका फोटो तथा भिडियोहरु सोसल मिडियामा शेयर गरेर बालबच्चाको पहिचान सिर्जना गर्नखोज्ने अभिभावकको कदम मन नपराइनसक्ने कुराको अनुभुति अभिभावकले गरेका हुँदैनन् ।
मनोविज्ञका अनुसार सोसल मिडियामा बाल्यकालका सामाग्री पोष्ट गर्ने विषय सन्तानको पहिचानमाथिको नियन्त्रणको संघर्षका रुपमा अघि आएको छ ।
अभिभावकहरु आफ्ना बालबच्चाको पहिचानको स्वामित्व आफुमाथि हुने ठान्दछन् तर सन्तानहरु भने आफ्नो पहिचान आफैले अनलाइनमा नियन्त्रण र परिवर्तन गर्न पाउनुपर्ने र अरुले स्वामित्व लिन नहुने ठान्दछन् ।
सोसल मिडियाले फरक पुस्ताहरुलाई निकट रहने र सम्पर्कमा बस्ने सुविधा प्रदान गरेको छ । अभिभावकहरु आफ्ना बालबच्चाको अनलाइन गतिविधिप्रति निकै सतर्क हुन्छन् र छोराछोरीले अनलाइनमा पोष्ट गर्ने सामाग्रीहरुमा धेरै चासो राख्दछन् । सम्झाइ बुझाइ समेत गर्दछन् ।
तर उनीहरु आफुले अनलाइनमा पोष्ट गर्ने आफ्ना बालबच्चाका बाल्यकालका तस्वीर तथा भिडियोले सन्तानमा पार्ने प्रभावको भने ख्याल गर्दैनन् । कहिलेकाहीँ यस्ता तस्वीर तथा भिडियोका विषय गोपनियताका विषय पनि बन्दछन् ।
कतिपय अभिभावकहरु भने सोसल मिडियामा हात नहाल्ने सुरक्षित बाटो अपनाउँछन् । न्युकासलकी कासिया कुरुस्का आफ्नो पहिलो बच्चा जन्माउने तयारीमा छिन् । उनी र उनका पति आफ्नो हुनेवाला बच्चा सोसल मिडियाको बारेमा बुझ्ने नभएसम्म र आफै निर्णय गर्नसक्ने नभएसम्म उसका फोटाहरु सोसल मिडियामा पोष्ट नगर्ने निर्णयमा पुगेको छ ।
तर आफ्नो सन्तानलाई अनलाइनबाट टाढै राख्नु कम समस्याको कुरा छैन । एक त आफन्तहरुले सामुहिक फोटोहरु खिचेर अनलाइनमा पोष्ट गर्नसक्ने सम्भावना र अर्को आफु सरहका अरु बच्चाहरु अनलाइनमा छाइरहँदा आफु अँध्यारोमा रहेको र दुनियाबाट टाढा भएको भनी उक्त बच्चाले भविष्यमा गर्नसक्ने गुनासोको डर ।
आफ्नो बच्चा सोसल मिडियाको बारेमा पूरै बुझ्ने नभएसम्म उसका तस्वीरहरु सोसल मिडियामा शेयर नगर्ने प्रण गरेकी कासियाले आफ्नो हुनेवाला बच्चासँग सम्बन्धित सबै डकुमेन्ट तथा तस्वीरहरु डिजिटल रुपमा सुरक्षित राख्नेछिन् ।
मात्र तिनीहरुलाई अनलाइनमा शेयर गर्ने छैनन् । जब बच्चा बुझ्ने हुनेछ तब ऊ आफैले आफ्ना कुन फोटो तथा भिडियो सोसल मिडियामा शेयर गर्ने भन्ने निर्णय गर्नेछ । बीबीसीको सहयोगमा