तपाईले आफ्नै गाउँ-घर टोल-छिमेकामा यस्ता धेरै घटनाहरु देख्नु भएको होला कि एउटा यूवक एक यूवतीलाई दिलोज्यान दिएर मनपराउँछ । ति यूवतीका लागी यूवक हर खुसी दिन चाहन्छ ।
हो तपाईले आफ्नै आँखा अगाडी देखेका यस्तै एक घटनालाई समेटेर निर्माण भएको चलचित्र ‘लभ लभ लभ’ को टीजर सार्वजनिक भएको छ । दर्शकलाई खोजे जस्तो स्वाद दिन माहिर निर्देशक दीपेन्द्र के. खनालले निर्देशन गरेको चलचित्र ‘लभ लभ लभ’ को टीजर पूर्ण रुपमा लभस्टोरी छ । टीजरमा चलचित्रका नायक सुरज पाण्डे प्रेमको परिभाषा दिइरहेका छन् भने चलचित्रकी नायिका स्वस्तिमा खड्का कतै मुस्कुराइरहेकी छिन् त कतै सुरजका प्रेमिल शब्द भावहरुमा बहकिरहेकी छिन् । चलचित्रका निर्देशक दीपेन्द्र के. खनालले टीजर सार्वजनिक गर्दै भने -‘हाम्रै, हामी आफैले भोगेका वा टोल छिमेकमा देखिने एउटा साधारण केटाको मायाको कथा भन्ने कोसिस गरेको छु चलचित्र लभ लभ लभ मार्फत ।’
नयाँ बर्ष २०७४ बैशाख १ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको यो चलचित्रमा स्वस्तिमा खड्का (बस्नेत), सुरज पाण्डे, देशभक्त खनाल, रमेश बुढाथोकी, रुपा राना लगायतका कलाकारहरु छन् । ‘होस्टेल रिटन्र्स’ मा सहायक भूमिकामा निर्वाह गरेकी स्वस्तिमा यसै चलचित्रबाट लिड रोलमा देखिएकी हुन भने सुरजको यो डेब्यु चलचित्र हो । अमृत पाण्डे र शर्मिला पाण्डेको लगानीमा ‘लभ लभ लभ’ तयार भएको हो । चलचित्रको सम्पूर्ण छायाँकन पोखरामा सकिएको हो । चलचित्रका सबै गीतमा सुरेश राईको संगीत रहेको छ भने कोरियोग्राफी कविराज गहतराजको रहेको छ । चलचित्रलाई निरज कँडेलले खिचेका हुन ।