साउन महिना महिलाहरुका लागि विशेष पर्वको रुपमा हेरिन्छ । साउने संक्रान्ती पर्व सुरु भएसँगै महिलाहरुमा मेहेन्दी र हरियो चुरा लगाउने चलन साउनभरी परम्पराको रुपमा चलिआएको छ । विवाहित महिला सौभाग्यको प्रतिकको रुपमा हरियो चुरा लगाउँछन् । अविवाहित यूवती पनि राम्रो वर प्राप्त होस् भनी हरियो चुरा र मेहेन्दी लगाउँछन् । हिन्दू धर्मग्रन्थका अनुसार साउनमा माता पार्वतीले पति महादेवलाई खुसी बनाई सौभाग्य प्राप्त गर्न हरिया चुरा, पोते र हातमा मेहेन्दी लगाएकी थिइन । र साउनमा जताततै हरियाली हुने हुनाले त्यही हरियालीमा रमाएर महादेवबाट पार्वतीले सौभाग्य प्राप्तिको खुसी प्राप्त गरिन् ।
यसै कारण पनि महिलाहरु साउन महिनामा हातमा चुरा र मेहेन्दी लगाइ साउन महिनाको प्रत्येक सोमबार ब्रत बस्ने गर्छन । त्यसैले होला यो महिनालाई महिलाहरुले विशेष पर्वको रुपमा लिन्छन् । हातमा हरियो चुरा र मेहेन्दी अहिले नेपाली सेलिब्रिटीहरुको हातमा पनि देखिएको छ ।
हालै भारतमा रहेकी एक समयकी चर्चित अभिनेत्री बिपना थापाले पनि हातमा मेहेन्दी लगाएकी छिन् । आफ्नो आधिकारी फेसबुकमा बिपनाले हातमा मेहेन्दी लगाएको केही तस्बिरहरु पोष्ट गरेकी छिन् । उनले हातमा मात्र होइन एक खुट्टामा पनि मेहेन्दी लगाएकी छिन् तर उनको हातमा हरियो चुरा भने देखिएको छैन । तस्बिर पोष्ट गर्दै उनले लेखेकी छिन्, ‘यो महिनामा मेहेन्दी लगाउनु पर्छ रे त्यसैले ! हिहिहि ।’ सन् २००८ मा भारतीय अशुतोश भार्द्वोजसँग विवाह गरेकी बिपनाका एक छोरो पनि छ ।