‘कबड्डी’ र ‘कबड्डी कबड्डी’ चलचित्र निर्देशन गरेर आफुलाई सफल निर्देशकको रुपमा स्थापित गराएका निर्देशक रामबाबु गुरुङले निर्देशन गरेको चलचित्र ‘पुरानो डुङगा’ गएको शुक्रबारबाट देशव्यापी प्रदर्शन भइरहेको छ । यस बर्षको प्रतिक्षित मानिएको चलचित्र पुरानो डुङ्गा हेरेपछि ‘सिनेखबर डटकम’ सहकर्मी मनिष अन्जानले गर्नुभएको समिक्षा :
निर्देशक : रामबाबु गुरुङ्ग
कार्यकारी निर्माता : बाल्मिकी पोख्रेल र अर्जुन कार्की
निर्माता : रौनक विक्रम कँडेल, ओम चन्द्र रौनियार र धन बहादुर गुरुङ
कलाकारहरु : माओत्से गुरुङ, दयाहाङ राई, प्रियंका कार्की, मेनुका प्रधान, वुद्धि तामाङ, पुष्कर गुरुङ, धन बहादुर गुरुङ, सजन थापा, नौजङ गुरुङ, विश्वास गुरुङ र पूर्णिमा गुरुङ ।
कथा
चलचित्रको कथा माओत्से गुरुङ (भक्ते), मेनुका प्रधान (मनमाया), दयाहाङ राई (बतासे) र प्रियंका कार्की (चन्दु) को वरिपरी घुमेको छ । भक्ते पोखराको एक तालमा एउटा पुरानो डुङ्गा चलाउँछन् । एउटा सानो गाउँका बासिन्दाहरुलाई खोला वारी-पारी गर्ने काम नै भक्ते उर्फ माओत्सेको हुन्छ । श्रीमती मनमाया गृहणी हुन्छिन् र उनीहरुको एक छोरा हुन्छ । भक्तेकै भाई हुन्छन् बतासे उर्फ दयाहाङ राई । सानो परिवार भएपनि घरको सम्पूर्ण जिम्मेवारी भक्तेको काँधमा हुन्छ । अल्लरे भाई बतासे विहान देखी बेलुकासम्म हल्लेर मात्रै हिँड्छन् भने श्रीमती मनमाया दमकी विरामी हुन्छिन् । श्रीमतीलाई औषधी किन्न देखी काखे छोरालाई हुर्काउन भक्तेलाई हम्मेहम्मे परिरहेको हुन्छ । त्यही एउटा प्वालै प्वाल परेको पुरानो डुङ्गाले भक्तेले जीविको पार्जन गरिरहेका हुन्छन् । भाई बतासे पोखरामा हल्लेर हिँड्दै गर्दा नायिका प्रियंका कार्की उर्फ चन्दुसँगको प्रेममा पर्छन । चन्दु पोखराको एक रोधी घरमा काम गर्ने गरेकी हुन्छिन् । त्यसपछि विहानदेखी बेलुकासम्म प्रियंकाकै पछि लाग्ने काम हुन्छ दयाहाङको । प्रेमिका चन्दुलाई घुमाउन र आफ्नो पकेट खर्चले च्याप-च्याप्ती परेपछि उनले दाई उर्फ भक्तेसँग अंश माग्छन् । बतासे उर्फ दयाहाङले दाई भक्तेलाई घर राखेर डुङ्गा आफुलाई माग्छन् । भक्तेले डुङ्गा नै चलाएर घर परिवार चलाएका कारण उनले डुङ्गा दिन मान्दैनन् । त्यसपछि भाई बतासेले जर्बजस्ती डुङ्गा खोसेर लग्छन् र बेचिदिन्छन् । त्यसपछि चलचित्रको कथाले फरक मोड लिन्छ । भाई बतासेले डुङ्गा खोसेर लगेपछि दाई भक्तेको जीवनमा आएका दुख, प्रियंकासँग दयाहाङको निकटता र परदेश गएका प्रियंकाका श्रीमान अर्थात कलाकार वुद्धि तामाङको इन्ट्रिले चलचित्रमा अनेकौ कौतुहल्ता निम्त्याउँछन् । चलचित्रको बाँकी कथा थाहा पाउन भने एकपटक हलसम्म नै जान उचित होला ।
निर्देशन
‘कबड्डी’ र ‘कबड्डी कबड्डी’ जस्तो सफल चलचित्र निर्देशन गरिसकेका रामबाबु गुरुङ्गको निर्देशकीय पाटोलाई खोट दिने ठाउँ छैन । उनको निर्देशकीय पक्ष राम्रो देखिन्छ । तर चलचित्रको पटकथा कमजोर हुँदा धेरै ठाउँमा दर्शकहरुलाई दिकदार लाग्न सक्छ । चलचित्रमा जब वुद्धि तामाङको इन्ट्री हुन्छ तब भने चलचित्रको ताल विग्रिएको अनुमान लगाउन सकिन्छ । नायक दयाहाङको पनि बलियो भुमिका नभएका कारण उनी धेरै ठाउँमा चुकेका छन् । चलचित्रको सिनेमेटोग्राफी भने उत्कृष्ट छ ।
कलाकारहरुको अभिनय
चलचित्रमा काम गरेका सबै कलाकारहरुको अभिनय अब्बल छ । माओत्से गुरुङ (भक्ते), मेनुका प्रधान (मनमाया), दयाहाङ राई (बतासे) र प्रियंका कार्की (चन्दु) ले आफुले पाएको भुमिकालाई पूर्ण रुपमा न्याय गरेका छन् । चलचित्रमा माओत्से गुरुङ (भक्ते) र मेनुका प्रधान (मनमाया) को केमेष्ट्रि त झन गज्जबकै छ ।
चलचित्रको संगीत
चलचित्रमा तीन गीत समोबश छन् । ‘नीर जैले रिसाउने’, ‘रुमानी रंग’ र ‘माझी’ बोलको गीत चलचित्रको कथावस्तु अनुसार सही ठाउँमा प्रयोग गरिएको छ । ‘नीर जैले रिसाउने’ र ‘माझी’ बोलको गीतमा कालीप्रसाद बाँस्कोटाको शब्द, संगीत र स्वर रहेको छ । त्यस्तै ‘रुमानी रंग’ बोलको गीतमा अनुपम शर्मा र आँचल शर्माको स्वर रहेको छ भने अनुपम शर्माको शब्द र प्रिन्स नेपालीको संगीत रहेको छ ।
हेर्ने कि नहेर्ने
यदी तपाई माओत्से गुरुङ, दयाहाङ राई, प्रियंका कार्की, मेनुका प्रधानको डार्यहार्ट फ्यान हुनुहुन्छ भने एकपटक चलचित्र ‘पुरानो डुङ्गा’ हेर्न सिफारिस गर्छु । तपाईले प्राय हेरिरहेका चलचित्र भन्दा ‘पुरानो डुङ्गा’ ले केही फरक स्वाद दिने कोशिश भने गरेको छ ।