सिनेखबर । यस बर्षको बैशाख महिनादेखी नेपाली चलचित्रको विजनेशमा राम्रै सुधार आएको छ । बैशाख १० गते प्रदर्शनमा आएको चलचित्र ‘हाउ फन्नी’ ले आफ्नो लगानी सेभ गरेपछि सुरु भएको नेपाली चलचित्र बजारको गतीले मंसीरसम्म आइपुग्दा राम्रै पिकअप लिइरहेको छ । बैशाखदेखी नेपाली चलचित्रले लगानी सेभ गरेको सूची हेर्ने हो भने आधा दर्जन बढी पुगिसकेको छ । यो यस बर्षका लागी निकै राम्रो हो । यसअघिका बर्षहरुमा आधा दर्जन चलचित्रले पनि लगानी उठाउन नसकेका उदारहणहरु प्रशस्तै छन् । ‘हाउ फन्नी’ सँगै बैशाख १० गते प्रदर्शनमा आएको अर्को चलचित्र ‘बाटो मूनीको फूल २’ ले पनि ठिकठाककै व्यापार गरेको थियो । लगानी सेभ गर्न गाह्रै परेपनि ‘बाटो मूनीको फूल २’ को व्यापारलाई निराशाजनक भन्न चाहिँ मिल्दैन । त्यसपछि लाग्यो जेठ । अनमोल केसी र श्रृष्टि श्रेष्ठ अभिनित चलचित्र ‘गाजलु’ जेठ २८ गते प्रदर्शनमा आयो । यो चलचित्रले झण्ढै ३ करोडको आसपासमा व्यापार गरेको थियो । त्यसपछिका दुई महिना अर्थात असार र साउनमा भने नेपाली चलचित्रको बजार पूरै सुस्ताएको थियो तर भदौको सुरुवातमा नै प्रदर्शनमा आएको दुई चलचित्र ‘चपली हाईट २’ र ‘वीर विक्रम’ ले पनि आफ्नो लगानी सेभ गरे । भदौ २४ गते प्रदर्शनमा आएको चलचित्र ‘छक्का पन्जा’ ले त नसोचे कै रेकर्ड कायम गर्यो । नेपाली चलचित्र इतिहासमा सबैभन्दा बढी आम्दानी गर्न चलचित्रको रुपमा समेत दर्ता भएको ‘छक्का पन्जा’ ले अहिलेसम्म १३ करोडमाथीको विजनेश गरिसकेको छ । केही सुस्ताएको नेपाली बजारलाई ‘छक्का पन्जा’ ले नै राम्रै गोडमेल गर्यो । त्यसपछि असोज २१ गते प्रदर्शनमा आएको चलचित्र ‘किस्मत २’ ले पनि लगानी सेभ गर्दै केही नाफा खल्तीमा हाल्न पायो । अनि लाग्यो कार्तिक । कार्तिक २६ गतेबाट प्रदर्शनमा आएको ‘जात्रा’ ले अहिले पनि मल्टिप्लेक्सहरुमा सुखद व्यापार गरिरहेको छ । धेरै जसो सिंगल हलहरुबाट उत्रिएपनि मल्टिप्लेक्सहरुमा भने अहिले पनि ‘जात्रा’को प्रत्येक शो हाउसफूल हुने गरेको छ । यो चलचित्रले प्रदर्शनको दुई सातामा दुई करोडको विजनेश गरिसकेको छ । चलचित्र वितरक माधव वाग्लेका अनुसार, ‘जात्रा’ ले काठमाण्डौ र मोफसल गरि दुई सातामा २ करोडको व्यापार गरेको जानकारी दिएका छन् ।
यस्तै गएको शुक्रबारबाट प्रदर्शनमा आएको अर्को चलचित्र ‘पुरानो डुङ्गा’ ले त दुई दिनमा नै डेढ करोडमाथीको विजनेश गरिसकेको छ । यसरी हेर्दा बैशाख देखी नेपाली चलचित्रको विजनेशमा राम्रै सुधार आएको छ । देशमा भएको नाकाबन्दी पश्चात दर्शकहरुको मोह बलीउड भन्दा नेपाली चलचित्रमा हुनुले पनि अहिले नेपाली चलचित्रको व्यापार आश लाग्दो देख्न सकिन्छ ।
-मनिष अन्जान