अहिले सामाजिक सञ्जाल यूट्यूबमा तपाईहरु अनगिन्ती रुपमा अश्लिल सर्ट मुभीहरु हेर्दै र देख्दै आइरहनु भएको छ । त्यस्ता अश्लिल सर्ट मुभीहरुले गर्दा अहिले नेपाली चलचित्रहरुलाई समेत असर गर्दै आइरहेको छ । सर्ट मुभीको नाममा मौलाउँदै गएको अश्लिल भिडियोहरुलाई अब नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालय अन्तर्गत रहेको निकाय चलचित्र विकास बोर्डले अनुमती बिना निर्माण र सार्वजनिक गर्न नपाउने प्रावधान ल्याउँदैछ ।
सर्ट चलचित्रको नाममा अश्लिल भिडियोहरु निर्माण हुँदा व्यबसायिक नेपाली चलचित्रहरुलाई समेत असर गर्न थालेपछि चलचित्र विकास बोर्डले त्यस्तो नियम ल्याउन लागेको हो । चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईले सोमबार राजधानीमा आयोजिक एक कार्यक्रममा बोल्दै चाँडै सर्ट भिडियोहरुलाई दर्ता बिना निर्माण गरे कारबाही गर्ने जानकारी दिए । उनले भने -‘अहिले सर्ट मुभीको नाममा विकृती फैलिदै गएको छ । जुन समाजभन्दा विल्कुलै विपरित ध्रुवमा तयार भएका छन् । त्यसले नेपाली चलचित्रलाई समेत असर गर्दैछ ।’
‘यदी सर्ट मुभीमा मोवाइल र विवाहमा खिचिने क्यामेरा भन्दा बाहेक अरु क्यामेराले खिचिन्छ भने अब त्यस्ता मुभीलाई कारबाही गरिनेछ । अब त्यस्ता भिडियोहरु बिना इजाजत निर्माण गर्न पाइने छैन । साथै, निर्माण भइसकेका उक्त सर्ट मुभीहरुलाई पनि अनिवार्य रुपमा सेन्सर गराउनु पर्छ । यसलाई चाँडै कार्यन्वयन गरिनेछ ।’ उनले थपे ।
उनले चाँडै बक्सअफिस लागु गर्ने विषयमा पनि कार्यक्रममा जानकारी दिए । उनले यस विषयमा भने -‘यसका लागी केही कानुनी झन्झट हुँदा केही समय लाग्ने देखिएको छ । हामीले यस विषयमा चाँडै जानकारी दिनेछौ ।’