के तपाईहरुले आजभन्दा १२ बर्ष अगाडी निर्माण भएको चलचित्र ‘समर्पण’ हेर्नुभएको छ ? हेर्नु भएको छ भने यो कुरा तपाईहरुलाई भनिरहनु परेन तर हेर्नु भएको छैन भने उक्त चलचित्रको एक गीत त पक्कै सुन्नु भएको होला ‘आकाशकी हौ तिमी चाहे धरतीकी हौं ।’ यो गीत अहिले पनि प्रत्येक नेपालीहरुको जिब्रोमा झुण्डिरहेको छ । सन् २००४ मा निर्माण भएको यो चलचित्रमा एकसमयका चर्चित नायक सुशील क्षेत्री, बिरेन क्षेष्ठ, नायिका सज्जा मैनाली, सुमी खड्का लगायतका कलाकारहरुले अभिनय गरेका थिए । त्यो समयको यो सफल चलचित्र हो । यही चलचित्रको नाममा नयाँ ‘समर्पण’ १२ बर्षपछि निर्माण भएको छ । १२ बर्षपछि समर्पण चलचित्रको नाम लिँदै निर्माण भएको यो चलचित्रमा भने नयाँ कलाकारहरुको बाहुल्यता रहेको छ ।
आफ्ना प्रत्येक चलचित्रमा सुपरस्टार कलाकारहरुलाई लिएर चलचित्र निर्देशन गर्न माहिर बसन्त निरौलाले चलचित्र ‘समर्पण’ लाई निर्देशन गरेका हुन् । यसअघि उनले निर्देशन गरेको चलचित्र ‘राजनीति’ मा नायक राजेश हमाल र गायिका कोमल ओली, ‘बिजयपथ’ मा निखिल उप्रेति , सन्चिता लुइटेल र शुशिल क्षेत्री, चलचित्र ‘नाईके’ मा नायक आर्यन सिग्देलले काम गरिसकेका छन् । उनले चलचित्र ‘समर्पण’ मा नयाँ कलाकारहरु भएपनि सबैले उत्कृष्ट अभिनय प्रस्तुत गरेको बताए । चलचित्रको एक पार्टी गीत सार्वजनिक कार्यक्रममा बोल्दै निर्देशक निरौलाले भने -‘चलचित्र कस्तो छ भनेर मैले बोल्नु भन्दा पनि दर्शकहरुले भन्ने कुरा हो । हामीले नयाँ कलाकारहरुलाई लिएर चलचित्र तयार पारेपनि ‘समर्पण’ लाई उत्कृष्ट बनाएका छौ ।’ आगामी पौष १५ गते रिलिज हुने चलचित्रमा रोजन रखाल, रञ्जु शर्मा, प्रयास तामाङ, रुवी शर्मा, विश्वास लामा, अमृत शाही ठकुरी, आशा भुषाल, अनु पराजुली, बालकृष्ण बञ्जारा, दीपक थापा र कुमार श्रेष्ठको अभिनय छ । चलचित्रलाई रोजन रखालले निर्माण गरेका हुन् भने उनलाई बंगलादेशी नागरिक इमरान सिद्धिकीले पनि निर्माणमा सघाएका छन् ।
रोजलले राम्रो कथा भएकाले चलचित्र समर्पणमा लगानी गरेको बताए । उनले भने -‘चलचित्र ‘समर्पण’ १२ बर्ष अगाडी निर्माण भएको चलचित्र ‘समर्पण’ को सिक्वेल होइन । नाम मात्र हामीले लिएका हौ तर कथा विल्कुलै फरक छ ।’ उनले चलचित्रका कुनै पनि सिनमा लगानी गर्न कन्जुसायी नगरेको पनि बताए । विश्वास लामाको नृत्य, कुमार महर्जनको द्वन्द्व, टंक बुढाथोकीको संगीत, तारा थापा किम्भे र किरण अधिकारीको सम्पादन रहेको फिल्ममा दिव्य सुवेदीको छायांकन छ ।