नायक दयाहाङ राई र नायिका प्रियंका कार्की अभिनित चलचित्र ‘पुरानो डुङ्गा’ अहिले नेपाली सिनेमा हलहरुमा प्रदर्शन भइरहेको छ । क्रिटिक्स र दर्शकहरुबाट खासै तारिफ पाउन नसकेको चलचित्र ‘पुरानो डुङ्गा’ को अहिले तारिफ भन्दा बढी आलोचना भइरहेको छ । अहिले चलचित्र ‘पुरानो डुङ्गा’ हेरेर फर्किएका दर्शकहरु निराश छन् भने क्रिटिक्सहरुबाट पनि गतिलो समिक्षा आउन सकेको छैन । ‘कबड्डी’ र ‘कबड्डी कबड्डी’ जस्तो चलचित्र निर्देशन गरेर आफुलाई सफल निर्देशकको रुपमा स्थापित गराएका रामबाबु गुरुङबाट दर्शकहरुले ठूलो आश गरेका थिए तर त्यसमा ‘पुरानो डुङ्गा’ खरो उत्रिन नसकेको धेरैको बुझाई छ । बजारमा चौतर्फी गुनासो आइरहेपछि हिजो मात्र निर्देशक रामबाबु गुरुङले फेसबुकमा एक स्टाटस लेखेका थिए कि ‘एउटा डुबाउने देख्छन् । अर्को डुबेको देख्छन् । छाडा शब्दहरू बाहेक भद्र बिश्लेषणहरु सुझाब हुन् । मुल कारण स्पष्ट दर्शाईयोस् मीत ज्यूहरु सपनामा कथेर बिपनामा लखेट्नु हुन्न । र डुब्या पनि छैन, ब्लक पनि गर्या छैन पासा ।’
रामबाबुको यो स्टाटस चलचित्र ‘पुरानो डुङ्गा’ को सकारात्मक समिक्षा नलेखेपछि उनले समिक्षकलाई फेसबुकमा ब्लक हानेको विषयमा थियो । अहिले रामबाबु गुरुङ र नायक दयाहाङ राई यही चलचित्र ‘पुरानो डुङ्गा’ को प्रिमियरका लागी अष्ट्रेलियामा छन् । रामबाबु गुरुङले मात्र होइन नायक दयाहाङ राईले पनि कुटनीतिक ढंगबाट चलचित्र ‘पुरानो डुङ्गा’ नराम्रो भन्नेलाई फेसबुबाटै गज्जबकै झटारो हानेका छन् । उनी लेख्छन्, ‘यो शहर हो…यहाँ अनेक हल्ला चल्छ ! हल्ला नभई शहर हुँदैन…तर सत्य-सत्य नै हुन्छ कि त्यो हजुरलाई थाहा छ कि मलाई थाहा छ । …र शहरमा पुरानो डुङ्गा छ ।’ उनले सिधै चलचित्रको विषयमा नराम्रो टिप्पणी गर्नेलाई प्रहार गरेको नदेखिएपनि उनले लेखेका भावको आशय भने अर्को देखिन्न । चलचित्रका निर्देशक र नायकले यस विषयमा फेसबुकबाटै विभिन्न प्रतिक्रिया जनाएपछि नायिका प्रियंका कार्कीले पनि फेसबुकमार्फत समिक्षकहरुमाथी आफ्नो आक्रोश पोखेकी छिन् । नायिका कार्कीले फेसबुकमा एक स्टाटस लेख्दै ‘पुरानो डुङ्गा’ को समिक्षा गर्नेलाई गतिलो प्रहार गरेकी छिन् । उनले व्यक्तिगत दुश्मनीका कारण चलचित्रको समिक्षा नराम्रो लेख्नु गलत भएको भन्दै चलचित्रको भन्दा चलचित्र बनाउनेको खण्डन अनि आलोचना गरिनु राम्रो नभएको पनि लेखेकी छिन् ।
प्रदर्शनमा आएको शुक्रबार र शनिबार राम्रो व्यापार गरेको चलचित्र ‘पुरानो डुङ्गा’ले आइतबारबाट भने उल्लेख्य संख्यामा दर्शक भित्राउन सकेको छैन । ‘सिनेखबर डटकम’ लाई प्राप्त जानकारी अनुसार, प्रदर्शनमा आएको दुई दिनमा चलचित्र ‘पुरानो डुङ्गा’ ले डेढ करोमाथीको विजनेश गरिसकेको छ ।