आफुले पाएको भुमिकालाई न्यायपूर्वक निभाउन खप्पिस मानिने नायक सौगात मल्ल आबश्यक भन्दा धेरै बोल्दैनन् । उनी सधै भन्ने गर्छन ‘मेरो काम बोल्छ म बोलेर केही हुँदैन’ । उनका यिनै र यस्तै सरलताले धेरैको मन जित्छ । २०१२ मा प्रदर्शनमा आएको चलचित्र ‘लुट’ मा ‘हाकु काले’ को भुमिका निर्वाहा गरेपछि एकाएक चर्चामा आएका सौगातले त्यसपछि आफ्नो करियरलाई पछाडी फर्केर हेर्नु परेको छैन । नेपाली बक्सअफिसमा उनले अभिनय गरेका केही चलचित्र भन्दा बाहेक धेरै जसो चलचित्रहरु असफल छन् तर उनी भने सधै हिट भए । उनका चलचित्र सफल नभएपनि उनलाई रुचाउने दर्शकको भिडमा कमी आएको छैन । त्यसैले त उनी कमै मात्र फुसर्दिलो हुने गर्छन ।
बढी जसो चलचित्रको छायाँकनमा नै व्यस्त हुने नायक सौगात मल्ल सामाजिक सञ्जालमा सक्रिय छैनन् भन्दा धेरैले नपत्याउनु होला । आफ्ना मन पर्ने स्टारहरुलाई प्रशंसकहरु सामाजिक सञ्जाल ट्विटर र फेसबुकमा भेट्न चाहन्छन् तर यसबाट टाढा छन् सौगात । किनकी उनलाई सामाजिक सञ्जाल देखी एलर्जी नै हुन्छ । तर, तपाई भन्नु हुन्छ होला कि ‘फेसबुकमा उनको नाम सर्च गर्यो भने भटिन्छ त ?’ हो भेटिन्छ तर ति सबै फेक आइडी हुन । उनी अहिलेसम्म सामाजिक सञ्जालमा जोडिएका छैनन । उनी भन्छन्, ‘यो भनेको समयको बर्बादी मात्र हो । म कामलाई प्राथमिकता दिन्छु । मोवाइलमा झुण्डिएर जति बेला पनि सामाजिक सञ्जालमा सक्रिय हुन मलाई पटक्कै मन पर्दैन । मलाई काम नै मोबाइलले दिने भएका कारणले मात्रै बोक्ने गर्छु । यदि अरुसँग कुराकानी गर्ने माध्यम मोबाइल बाहेक अरु हुने भए म मोबाइल नै बोक्दैन थिएँ ।’ सामाजिक सञ्जालमा सक्रिय भयो भने एउटा फाइदा हुन्छ स्टारहरुलाई, त्यो हो आफुले अभिनय गरेको चलचित्रको प्रतिक्रिया बजारमा कस्तो छ, व्यापार कस्तो छ लगायत-लगायत । तर सामाजिक सञ्जालमा सक्रिय नभएका कारण उनी यि सबै कुराहरु आफ्ना प्रशंसकहरुले भेटेको बेला सुनाउने गर्छन र प्रशंसकहरुबाट थाहा पाउने गर्छन । यति मात्र होइन उनले टेलिभिजन नहेरेको मात्र पनि १० बर्ष बढी भइसकेको छ । उनी नेपाली चलचित्रमा आउनु अगाडी भने खुबै टिभी हेर्ने गर्थे । उनी भन्छन्, ‘एकपटक त टिभी नहेरी खाना पनि रुच्दैन थियो । रात परेको र विहानी भएको पनि थाहा हुँदैन थियो । तर मैले अहिले १०/१२ बर्ष जति भयो होला टिभी हेरेको पनि छैन ।’
कामलाई मात्र प्राथमिकता दिने सौगात बेला बखतमा भने कन्ट्रोभर्सीमा पनि फसिरहेका हुन्छन् । केही महिना अगाडीसम्म सौगात मल्ल मोडल सोनी केसीसँगको प्रेम सम्बन्धमा रहेको भन्ने हल्ला खुबै थियो तर अहिले उनी अभिनेत्री श्रृष्टि श्रेष्ठसँगको प्रेम सम्बन्धमा रहेको खबर छ । सौगातले अभिनय गरेको नयाँ चलचित्र ‘लुट २’ फागुन १३ गते प्रर्दशनमा आउँदैछ ।