सूचना तथा सञ्चार मन्त्रालय अन्तर्गतको चलचित्र विकास बोर्डको सिनेमा हल दर्ता फाइल पल्टाउने हो भने नेपालमा ३६७ सिनेमा हल दर्ता छन् तर अहिले ५० प्रतिशत भन्दा बढी त बन्द नै भइसकेका छन् । विस्तारै हुँदै गएको प्रविधिको विकाससँगै सिनेमा हलमा पनि उच्चस्तरिय प्रविधि जडान हुन नसक्नुका साथै अपेक्षाभन्दा कम व्यापार गर्नु पनि धमाधम सिनेमा हलहरु बन्द हुनुको मुख्य कारण हो । चलचित्र विकास बोर्डका प्रदर्शन तथा वितरण शाखा अधिकृत चिरञ्जीवी गुरागाईंका अनुसार आउटडेटेड प्रविधिलाई विस्थापन गर्दै नयाँ प्रविधि जडान गर्न नसक्नुले नै धमधम हलहरु बन्द हुँदै गएको हो । उनी भन्छन्, ‘३६७ दर्ता भएका सिनेमा हल मध्ये अहिले १८३ हल मात्र सञ्चालनमा छन् । सोचे अनुसार व्यापार नगर्नु र उच्चस्तरिय प्रविधि जडान गर्न नसक्नुले पनि सिनेमा हलहरु बन्द भएका हुन ।’
नेपालमा सबैभन्दा बढी हलको संख्या भएको बागमती अञ्चलमा ९२ सिनेमा हल दर्ता छन तर सञ्चालनमा भने अहिले ४३ वटा मात्र छन् । त्यस्तै ४४ हल दर्ता भएको नारायणीमा २७ हल बन्द भइसकेका छन् भने ३२ हल दर्ता भएको गण्डकीमा १३ वटा त बन्द नै भइसके । यस्तै, मेचीमा १७ हल रहेकोमा ६ वटा बन्द भएका छन् । ३७ हल रहेको कोशीमा पनि १३ वटा हल बन्द भइसकेका छन् । २२ वटा हल दर्ता भएको सगरमाथा अञ्चलमा पनि १४ वटा हल बन्द भइसकेका छन् । त्यस्तै २९ हलले इजाजत लिएको जनकपुर अञ्चलमा पनि १५ वटा हल बन्द छन । ३१ हल दर्ता भएको लुम्बिनि अञ्चलमा पनि २१ वटा हल बन्द भइसकेका छन् । त्यस्तै धौलागिरीमा ८ वटा हल रहे पनि ३ हल बन्द भइसकेका छन् ।
यस्तै भेरीमा १७ वटा हल दर्ता थिए तर अहिले ४ हलमा ताल्चा लागिसकेका छन् । सबैभन्दा दयनिय अबस्था त सेती अञ्चलको छ । सुरुमा १५ वटा हल दर्ता भएपनि अहिले १३ वटा हल बन्द भइसकेका छन् । यसैगरी राप्ती अञ्चलका १४ हलमा ४ वटा बन्द भइसकेका छन् । अझ महाकाली अञ्चलमा त अहिले एउटा पनि हल सञ्चालनमा छैनन् । ८ हल दर्ता भएपनि अहिले कुनै पनि हल सञ्चालनमा नरहेको शाखा अधिकृत चिरञ्जीवी गुरागाईंले बताए । गुरागाईंले दिएको जानकारी अनुसार अहिले महाकालीमा भने एक हल पुन: सञ्चालनमा आउने तयारीमा रहेको छ ।
यसरी हेर्दा लगालग सिनेमा घरहरु बन्द हुँदा चलचित्र निर्माण गर्ने नेपाली निर्माताहरुलाई भने आफ्नो लगानी उठान पनि मश्किल परिरहेको छ । यस तर्फ चलचित्र विकास बोर्डको ध्यान जान निकै आबश्यक देखिएको छ । तर, चलचित्र विकास बोर्ड भने जेठसम्म बक्स अफिस लागु गर्ने तयारीमा रहेको छ ।
नेपालमा बक्स अफिस लागु नहुँदा नेपालमा कुन चलचित्रले कतिको ‘विजनेश’ गरे भन्ने यकिन तत्थ्यांक आउने गरेको छैन । निर्माता तथा चलचित्र वितरकले जति दाबी गर्छन् त्यसैलाई ‘कलेक्सन’ को आधार मान्नु पर्ने अबस्था छ । विकास बोर्डका अध्यक्ष राजकुमार राई आफ्नो कार्यकालमा बक्सअफिस लागु गरेरै छोड्ने तयारीका साथ लागिपरेका छन् ।