प्रत्येक बर्षको सुरुवात अर्थात नयाँ बर्ष सबैका लागि विशेष हुने गर्छ । आम मानिसहरु नयाँ बर्षले जीवनमा हर्षउल्लाह ल्याउने विश्वास गर्छन । बर्षको सुरुवातमा विगतका नराम्रा क्रियाकलापलाई सच्याएर नयाँ जोश र जाँगरका साथ आफ्नो कर्मक्षेत्रमा लागेर आर्थिक सामाजिक र सांस्कृतिक विकास गर्ने प्रेरणा मिलोस् भनेर कामना गरिन्छ।
यस्तो महान दिनमा नेपाली चलचित्र क्षेत्र चाँही कहाँ अछुतो रहन सक्छ होला र ! त्यसैले त प्रत्येक नयाँ बर्षमा ठूला र राम्रा भनिएका चलचित्रहरु एकसाथ हलमा प्रदर्शन हुने गर्छन । नयाँ बर्षको दिन सार्वजनिक विदा हुने भएका कारण पनि चलचित्र निर्माताहरु सोही दिनलाई उपयूक्त मिति मान्दै आफ्नो चलचित्रको रिलिज डेट फाइनल गर्ने गर्छन ।
एकपछि अर्का निर्माताले नयाँ बर्षको दिनलाई उपयूक्त मिति ठान्दै आफ्नो चलचित्रको रिलिज डेट फाइनल गर्दा नयाँ बर्षको दिन केही चलचित्र रिलिज भएनन् भनेपनि तीन भन्दा बढी हुने गर्छन । यो त अहिले परम्परा नै बनिसकेको छ । अर्को नयाँ बर्षमा यो परम्परालाई नेपाली निर्माताहरुले कसरी पो तोड्न सक्छन् होला र ! त्यसैले त २०७४ को सुरुवात अर्थात नयाँ बर्षको दिन ४ ठूला चलचित्र एकसाथ प्रदर्शनमा आउने लगभग पक्का भएको छ । नायक निखिल उप्रेती स्टारर चलचित्र ‘राधे’, स्वस्तिमा खड्का र सुरज पाण्डे स्टारर चलचित्र ‘लभ लभ लभ’, दयाहाङ राई र केकी अधिकारी स्टारर चलचित्र ‘घामपानी’ र सौगात मल्ल स्टारर चलचित्र ‘लालपूर्जा’ एकै मिति अर्थात २०७४ बैशाख १ गते प्रदर्शनमा आउने तयारीमा छन् । बैशाख १ मा चलचित्र ‘राधे’ ले सबैभन्दा पहिला आफ्नो रिलिज मिति फाइनल गरेको थियो त्यसपछि ‘लभ लभ लभ’ र ‘घामपानी’ ले । यि तीन चलचित्र प्रदर्शनमा आउने पक्का भइसकेको अबस्थामा हालै ‘लालपूर्जा’ निर्माण पक्षले बैशाख १ गतेलाई नै आफ्नो रिलिज मिति फाइनल गरेको खबर ‘सिनेखबर डटकम’ लाई प्राप्त भएको छ । यसरी हेर्दा अर्को नयाँ बर्षमा नेपाली चलचित्रहरुको राम्रै यूद्ध हुने देखिन्छ । अर्को बर्षको नयाँ बर्षका दिन शुक्रबार परेका कारण पनि नेपाली निर्माताहरु सोही दिनमा आफ्नो चलचित्र प्रदर्शन गर्न हानाथाप गरिरहेका छन् ।
एकसाथ चार चलचित्र प्रदर्शनमा आउने पक्का भएसँगै अहिले चलचित्रकर्मीहरु देखी दर्शकहरुको ध्यान पनि २०७४ बैशाख १ गते तर्फ खिचेको छ । ठूला भनिएका चलचित्रहरु एकसाथ प्रदर्शनमा आउँदा राम्रो भने कसैलाई हुँदैनन् तर यहाँ कोही निर्माता पनि उक्त रिलिज डेटबाट डगमगाउने मनसायमा छैनन् । निर्माताहरु आफ्नो लगानी जोखिममा राखेर भएपनि नयाँ बर्षमा आफ्नो चलचित्र रिलिज गरेरै छोड्ने धाउन्नमा छन् । अर्को बर्ष आउनका लागि ४ महिना अझै बाँकी भएका कारण कुनै एक चलचित्रले प्राविधिक कारण देखाउँदै बाटो छोड्न पनि सक्छन् । यदी त्यसो भएन भने २०७४ बैशाख १ गते ४ नेपाली चलचित्रको लडाइँ हेर्न लायककै हुनेछ ।