यहाँ अनौठो होइन आफुले निर्माण गरेको चलचित्र रिलिज हुनु भन्दा अगाडी निर्माताहरुले दोस्रो, तेस्रो भाग बनाउँछु भनेर गफ दिनु । किनकी यस्ता गफहरु नेपाली सिनेवृतमा अनगिन्ती सुन्ने गरिन्छ । चलचित्र निर्माण गरेपछि सफल होस् वा असफल सिक्वेल चाँही बनाएरै छाड्छौ भन्ने केही निर्माताहरुको बोली अहिलेसम्म पूरा भने हुन सकेको छैन । केही हप्ता अगाडी चलचित्र ‘पुरानो पुस्ता’ ले रिलिज अगाडी नै चार सिक्वेल निर्माण गर्ने घोषणा गरेको थियो तर पहिलो भाग नै बक्सअफिसमा नराम्रोसँग पछारिएपछि अब सायद दोस्रो भाग निर्माण गर्न निर्माताले आफ्नो खल्ती रित्याउने छैनन् ।
त्यस्तै गएको बर्ष २ करोडको लगानीमा निर्माण भएको भनेर व्यापक प्रचार प्रसार गरिएको चलचित्र ‘बागमती’ निर्माणपक्षले पनि नराम्रैसँग दर्शक झुक्याएको छ । ‘बागमती’ रिलिज अगावै पव्लिसिटीलाई आक्रामक बनाउने क्रममा निर्माणपक्षले सिक्वेल निर्माण गर्ने भनेर गरेको घोषणा अहिले हावादारीको गफ जस्तो देखिएको छ । पहिलो भागले नै बक्सअफिसमा हावा खाएपछि अहिले यस चलचित्रका निर्माता, निर्देशक कहाँ छन् कसैलाई अत्तो पत्तो छैन । नायक राजेश हमाल, शिव श्रेष्ठ, केकी अधिकारी लगायतका कलाकारहरुको अभिनय रहेको चलचित्र ‘बागमती’ मा प्रयोग भएका सम्पूर्ण प्राविधिक र प्रविधीहरु दक्षिण भारतबाट ल्याइएको भन्ने पनि मज्जैले हल्ला चलेको थियो तर दर्शकहरुले चलचित्र हेर्दा त्यो महशुस नै गरेनन् । साउथ इण्डियन निर्देशक भनिएका सन्नी केरलाले निर्देशन गरेको चलचित्र ‘बागमती’ भनेपछि दर्शकहरु गज्जबकै एक्शन होला भनेर हलसम्म त गए तर फर्किदा निर्माणपक्षले सुन्न लायकको प्रतिक्रिया पाएनन् । दर्शकमात्र होइन चलचित्रमा अभिनय गरेका कलाकारहरु समेत ‘बागमती’ हेरेपछि रुष्ट भए ।
‘बागमती’ रिलिजताका निर्माता दिनेश दर्शनधारीले ‘बागमती २’ को छायाँकन समेत आरम्भ भएको खबर दिन पछाडी हटेनन् । यतिसम्मकी चलचित्र ‘बागमती’ को अन्तिममा चलचित्र ‘बागमती २’ का केही दृश्य पनि देखाइएको थियो ।
‘बागमती २’ मा पनि राजेश हमाल, शिव श्रेष्ठले काम गर्ने फाइनल भएको खबर मिडियामा दिएर चलचित्र ‘बागमती’ को प्रचार गर्न पनि बाँकी राखेन निर्माणपक्षले । तर, पहिलो भागले नै नेपाली बक्सअफिसमा धुम पिट्न नसक्दा न कलाकारले ‘बागमती २’ मा खेल्न चाहे न निर्माताले नै लगानी गर्न खोजे । यतिसम्मकी निर्माणपक्षले राजेश हमाल र शिव श्रेष्ठ फिचरिङ्ग ‘बागमती २’ को पोष्टर समेत सार्वजनिक गरेको थियो । ‘सिनेखबर डटकम’ लाई प्राप्त जानकारी अनुसार, चलचित्र ‘बागमती’ नेपाली बक्सअफिसमा असफल भएपछि राजेश हमाल, शिव श्रेष्ठ लगायतका कलाकारहरुले ‘बागमती २’ मा काम गर्न चाहेनन् र निर्माण पक्षले पनि दोस्रो भाग निर्माण गर्न चासो देखाएन । जसले गर्दा ‘बागमती २’ गर्भमै तुहिएको छ । के दर्शकहरुले राजेश हमाल र शिव श्रेष्ठ अभिनित ‘बागमती २’ हेर्न पाउँछन् त ? यसको जबाफ बागमती चलचित्रका निर्माताले भन्दा अरु कसले नै पो दिन सक्छन् होला र !