गएको बर्ष प्रदर्शनमा आएको सफल चलचित्र ‘प्रेमगीत’ को सिक्वेल ‘प्रेमगीत २’ को छायाँकन आज सोमबारबाट सुरु भएको छ । सोमबार पशुपति मन्दिरमा पूजा गरेर चलचित्रको शुभसाइत गरिएको छ । नेपाल, थाइल्याण्ड, बर्मा लगायतका स्थानमा छायाँकन हुने यो चलचित्रलाई रामशरण पाठकले निर्देशन गर्नेछन् । यसअघि प्रेमगीतलाई सुदर्शन थापाले निर्देशन गरेका थिए । चलचित्र ‘प्रेमगीत २’ को छायाँकन अवधी २ महिना रहने निर्माता सन्तोष सेनले जानकारी दिएका छन् । निर्माता सेनले ‘प्रेमगीत २’ लाई आफुहरु प्रेमगीत भन्दा पनि स्तरीय बनाउन बनाउन सक्दो मेहेनत गर्ने बताए । आशुसेन फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको यो तेश्रो चलचित्र हो । यसअघि यो ब्यानरले ‘चंखे शंखे पंखे’ र ‘प्रेमगीत’ निर्माण गरेको थियो । यो चलचित्रमा ‘प्रेमगीत’ नायिका पुजा शर्माको ठाउँमा नव-नायिका अश्लेषा ठकुरी रहेकी छिन् भने प्रदीप यथावत नै रहेका छन् । साथै उनीहरुको अलवा चलचित्रमा भुवन चन्द, श्रद्धा प्रसाई, कैलाश कटुवाल, राजाराम पौडेल, प्रशान्त घिमिरे, संगीता नापित, कविता रेग्मी, कुमार कार्की, मुक्तबाबु आचार्य, सौरभ क्षेत्री लगायतका कलाकारको पनि अभिनय रहनेछ । चलचित्रमा अष्ट महर्जनको एक्सन, पुरुषोत्तम प्रधानको छायांकन समावेश हुनेछ ।
शुभसाइत कार्यक्रममा बोल्दै चलचित्रका नायक प्रदीप खड्काले चलचित्र ‘प्रेमगीत २’ सिक्वेल नभएको बताउँदै प्रेम र गीतको कथा फेरि सुरु हुने बताए ।