चलचित्र ‘सानो संसार’ बाट ठुलो पर्दामा हाम फालेका नायक जीवन लुइँटेलले हालसम्म दुई दर्जन बढी चलचित्रमा काम गरिसकेका छन् । जति बेला चलचित्र क्षेत्रमा नायक आर्यन सिग्देलको दबदबा थियो त्यति बेला भित्रिएका जीवनको इन्ट्री आर्यनलाई समेत भारी परेको थियो । चकलेटी अनुहारले लाखौं दर्शक बटुलिसकेका जीवनले बढी जसो रोमान्टिक लभस्टोरी चलचित्रमा काम गरेका छन् । उनलाई विकास आचार्य निर्देशित चलचित्र ‘नाइँ नभन्नू ल’ ले राम्रै उचाईमा ल्याएको थियो । दर्जन बढी चलचित्रमा काम गरेपनि जीवनका एकाध चलचित्र मात्र सफलताको सूचीमा दर्ता छन् नभए उनका अधिकांश चलचित्रहरु त कहिले आउँछन् र कहिले जान्छन् दर्शकहरुलाई समेत थाहा हुँदैन । जीवन अभिनित पछिल्लो चलचित्र ‘राधा’ ले बक्सअफिसमा राम्रै कलेक्शन गर्न सफल भएको थियो ।
परिवारसहित अमेरिकामा रहने जीवन अहिले भने नेपालमा नै छन् । अब भने जीवन आफ्नै होम प्रोडक्शनबाट चलचित्र निर्माण गर्ने तयारीमा रहेका छन् । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा ‘सिनेखबर डटकम’ सँग कुराकानी गर्दै जीवनले बर्षमा २ चलचित्र निर्माण गर्ने जानकारी दिए । उनले भने -‘अब आफ्नै होम प्रोडक्शनबाट बर्षमा दुईटा चलचित्र निर्माण गर्नेछु । त्यसमा म मात्रै नायक हुन्छु भन्ने छैन, नयाँ अनुहारहरुलाई पनि प्राथमिकता दिनेछु ।’ उनले आफ्नो ब्यानरबाट बन्ने चलचित्र विशेषत रोमान्टिक लभस्टोरी हुने पनि बताए ।