एक समयकी सफल अभिनेत्री विपना थापाले आज आफ्नो ३८ औं जन्मदिन मनाउँदैछिन् । कुनै समय नेपाली चलचित्र क्षेत्रमा एकलौटी राज गरेकी विपना थापाले अभिनय गरेका चलचित्रहरु हेर्न नपाएको पनि दर्शकहरुले लामै समय भइसकेको छ । खबरका अनुसार अब विपना थापाले नेपाली चलचित्र खेल्ने सम्भावना निकै न्यून छ । एक छोराकी आमा समेत बनिसकेकी विपना अहिले भारतको मधुरामा बस्दै आइरहेकी छिन् । २००८ मा भारतीय नागरिक तथा यूवा कांग्रेस मथुरा लोकसभाका अध्यक्ष समेत रहेका आशुतोष भारदवाजसँग बिहे गरेपछि उनी नेपाली चलचित्रमा सक्रिय छैनन् ।
उनले ‘सहिद गेट’, ‘मामाभान्जा’, ‘ख्यालख्यालैमा’, ‘बरमाला’, ‘बेइमानी’, ‘रामबलराम’, ‘देवदूत’, ‘प्यारी बहिनी’, ‘जित’, ‘सगुन’, ‘अनाथ’, ‘शंकर’जस्ता चलचित्रमा अभिनय गरेकी थिइन् । उनको पहिलो चलचित्र ‘जन्मभूमि’ २०५३ सालमा सार्वजनिक प्रदर्शन भएको थियो । अभिनयको अलवा विपनाले फेशन डिजाइनिंगको कारोबार पनि गरिरहेकी छिन् । खबरका अनुसार, विपनाले सञ्चालन गरेको ‘विपनाज् वुटिक’ काठमाडौंको भाटभटेनीमा अहिले पनि छ । उनीसँगका धेरै नायिकाहरु अहिले प्राय जसो अमेरिकामा छन् ।
नायिका थापाले नेपालमा गएको महाभूकम्पको बेला भारतबाट नै ल्याएर भूकम्प पीडितहरुलाई २ सय लिटर तेल, पाँच क्विन्टल चामल, पाँच सय किलो दाल र चिनी, नून दुई क्विन्टल, साबुन चार पाँच कार्टुन र बालबालिकाहरुका लागि आवश्यक खाजाका रुपमा बिस्कुटहरु वितरण गरेकी थिइन् ।
विपना थापालाई सिनेखबर डटकमको तर्फबाट पनि जन्मदिनको हार्दिक शुभकामना ।